पोखरा । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको खुला युवा कविता प्रतियोगितामा संयोग बस्याल प्रथम भएका छन्। अन्तरराष्ट्रिय युवा दिवसको सन्दर्भमा आयोजित प्रतियोगितामा छनोट भएका १३ जना सहभागीमध्ये बस्याल उत्कृष्ट घोषित भएका हुन्। बस्यालले ‘युवा हो’ शीर्षकको कविता प्रस्तुत गरेका थिए। प्रथम भएका उनले प्रमाणपत्रसहित नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
प्रतियोगितामा मदन घिमिरे द्वितीय, मिलन अधिकारी गम्भिर यात्री तृतीय तथा आदर्श लम्साल र सोनिया बास्तोला सान्त्वना भएका छन्। द्वितीय भएका घिमिरेले १२ हजार, तृतीय अधिकारीले १० हजार तथा सान्त्वना भएका लम्साल र बास्तोलाले जनही पाँच हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे। प्रतियोगितामा सहभागी सबैलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो।
उनीहरूलाई गण्डकी प्रदेशकी सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ, मन्त्रालयका सचिव डा। शेषनारायण पौडेल, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव मनकुमार श्रेष्ठलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।
कार्यक्रममा बोल्दै मन्त्री रेखा गुरुङले युवाहरूले कवितामार्फत महत्वपूर्ण विषयहरू उठान गरेको बताइन्। युवाका भावना, समस्या र आकांक्षालाई राज्यले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिँदै उनले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यापक बनाउने प्रतिबद्धता व्यक्त गरिन्।
मन्त्रालयका सचिव डा। शेषनारायण पौडेलले कविता प्रतियोगिताले युवाका भावना र दृष्टिकोण बुझ्ने अवसर प्रदान गरेको बताए। उनका अनुसार युवा केवल निश्चित उमेर समूह मात्र नभई विचार र सोचको प्रतिनिधित्व गर्ने शक्ति हो।
उनले युवा रोजगारी खोज्ने मात्र नभई अरूलाई समेत रोजगारी दिन सक्ने जनशक्ति बन्नुपर्ने बताए। देश निर्माणको मुख्य जिम्मेवारी युवाको काँधमा रहेको उल्लेख गर्दै पौडेलले युवाको सक्रिय सहभागिताबिना राष्ट्रको विकास सम्भव नहुने धारणा राखे।
‘भिन्न परिवेश, साझा आकांक्षा’ भन्ने नाराका साथ मनाइएको अन्तराष्ट्रिय युवा दिवसमा मन्त्रालयले साप्ताहिक कार्यक्रम आयोजना गरेको थियो । जस अन्तरगत कविता प्रतियोगिताका लागि कुल १८ वटा कविता प्राप्त भएका थिए। तीमध्ये १३ वटा कविता छनोट गरिएको थियो भने प्रतियोगितामा १० वटा कविता वाचन गरिएको आयोजकले जनाएका छन् ।
प्रतियोगिताको निर्णायक संयोजकमा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव मनकुमार श्रेष्ठ रहेका थिए। निर्णायक सदस्यमा रुपिन्द्रु प्रभावी जोशी, अनुराग अधिकारी र लक्ष्मी थापा रहेका थिए। प्रतियोगिता सफल बनाउन गण्डकी प्रज्ञा प्रतिष्ठानले समन्वय गरेको थियो।
मन्त्रालयको युवा शाखा प्रमुख नारायणप्रसाद बास्तोलाले सञ्चालन गरेको कार्यक्रममा मन्त्रालयका प्रवक्तासमेत रहेका उपसचिव घनश्याम पौडेलले स्वागत मन्तव्य राखेका थिए।
प्रतियोगिताले युवाका सिर्जना, विचार र समसामयिक विषयप्रतिको दृष्टिकोणलाई सार्वजनिक गर्ने अवसर प्रदान गरेको आयोजकको भनाइ छ। कविता सिर्जनाका माध्यमबाट युवाको आवाजलाई नीति निर्माण र सामाजिक बहससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मन्त्रालयले जनाएको छ।
















