पोखरा । नेपाल परिवार नियोजन संघ कास्की शाखाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर ‘के चाहन्छन् युवा ?’ विषयक युवा भेला आयोजना गर्ने भएको छ। युवाका आवश्यकता, भावना, चाहना र समस्याका विषयमा प्रत्यक्ष छलफल गरी उनीहरूको आवाजलाई सम्बन्धित निकायसम्म पु¥याउने उद्देश्यले भेला आयोजना गर्न लागिएको हो।

नेपाल परिवार नियोजन संघ कास्की शाखाका सभापति नवीन सिग्देलका अनुसार यही साउन २७ गते युवा भेला आयोजना गरिनेछ। पोखरा महानगरपालिका वडा नं. १८ कार्यालयको सहयोगमा आयोजना हुने भेलामा १८ देखि २१ वर्ष उमेर समूहका युवाहरूको सहभागिता रहनेछ।

युवाको वर्तमान अवस्था, उनीहरूले भोगिरहेका समस्या, भविष्यप्रतिको अपेक्षा तथा राज्य र स्थानीय तहबाट प्राप्त हुनुपर्ने सेवा–सुविधाका विषयमा युवाकै धारणा बुझ्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको संघका वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारीले जानकारी दिए ।

उनका अनुसार युवा पुस्ताका आवश्यकता र चाहनाबारे सरोकारवाला निकायले आफ्नै दृष्टिकोणबाट धारणा बनाउनेभन्दा युवाकै आवाज सुन्न आवश्यक भएकाले भेला आयोजना गरिएको हो। भेलामा सहभागी युवाले आफ्ना अनुभव, समस्या, आवश्यकता तथा भविष्यका अपेक्षाबारे खुलेर धारणा राख्ने अवसर पाउनेछन्।

भेलाबाट प्राप्त सुझाव तथा निष्कर्षलाई दस्तावेजका रूपमा तयार गरी स्थानीय सरकार, प्रदेश सरकार तथा सम्बन्धित सरोकारवाला निकायलाई बुझाउने संघको योजना छ। यसबाट युवाका वास्तविक आवश्यकता पहिचान गरी आगामी दिनमा युवा लक्षित नीति, कार्यक्रम तथा सेवाहरू निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विशेषगरी किशोरकिशोरी तथा युवाका लागि महत्वपूर्ण मानिने यौन तथा प्रजनन स्वास्थ्य र बृहत् यौनिकता शिक्षाका विषयमा समेत भेलामा जानकारी तथा सचेतना प्रदान गरिनेछ। किशोरावस्थामा हुने शारीरिक तथा मानसिक परिवर्तन, यौन तथा प्रजनन स्वास्थ्य, सुरक्षित व्यवहार, स्वास्थ्य सेवामा पहुँच तथा सही जानकारीको महत्वका विषयमा युवालाई जानकारी गराइने संघले जनाएको छ।

नेपाल परिवार नियोजन संघ कास्की शाखाले किशोरकिशोरी तथा युवालाई लक्षित गर्दै यसअघि पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। संघले अन्नपूर्ण गाउँपालिकाको सहयोगमा गाउँपालिकाभित्रका १० वटा विद्यालयमा अध्ययनरत ४० जना किशोरकिशोरीका लागि दुईदिने यौन तथा प्रजनन स्वास्थ्य एवं बृहत् यौनिकता शिक्षा तालिमसमेत सम्पन्न गरिसकेको छ।

त्यस्तै, संघले कास्की जिल्लाका करिब ३० वटा विद्यालय तथा कलेजमा यौन तथा प्रजनन स्वास्थ्य एवं बृहत् यौनिकता शिक्षालाई अभियानका रूपमा सञ्चालन गरेको जनाएको छ। विद्यालय तथा कलेज तहमा किशोरकिशोरीलाई आफ्नो स्वास्थ्य, अधिकार र जिम्मेवारीबारे सही जानकारी उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

संघका अनुसार किशोरकिशोरी तथा युवाले यौन तथा प्रजनन स्वास्थ्यका विषयमा सही र वैज्ञानिक जानकारी नपाउँदा विभिन्न प्रकारका स्वास्थ्य तथा सामाजिक समस्या उत्पन्न हुन सक्ने भएकाले विद्यालय तथा समुदायस्तरमा यस्ता कार्यक्रमको आवश्यकता बढ्दै गएको छ।

यसैबीच, नेपाल परिवार नियोजन संघ कास्की शाखाले आफ्नो क्लिनिकलाई छिट्टै किशोरकिशोरीमैत्री क्लिनिकका रूपमा सञ्चालन गर्ने तयारीसमेत गरेको छ। किशोरकिशोरीले आफ्ना स्वास्थ्यसम्बन्धी समस्या तथा जिज्ञासा सहज रूपमा राख्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यले क्लिनिकलाई थप व्यवस्थित र उनीहरूको आवश्यकताअनुकूल बनाउने तयारी भइरहेको संघले जनाएको छ।

किशोरकिशोरी तथा युवाको स्वास्थ्यसम्बन्धी आवश्यकता, उनीहरूको गोपनीयताको सम्मान तथा सहज स्वास्थ्य सेवामा पहुँचलाई प्राथमिकता दिँदै किशोरकिशोरीमैत्री सेवा सञ्चालन गरिने संघको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0