पोखरा । पत्रकारहरूको डिजिटल अधिकार, सुरक्षा, सूचना तथा प्रविधिको प्रयोगसम्बन्धी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको ‘नेपाल डिजिटल राइट्स स्कुल २०२६’ सोमबारदेखि पोखरामा सुरु भएको छ । पोखरामा क्रियाशील पत्रकारहरूलाई लक्षित गरी आयोजना गरिएको दुईदिने कार्यशालामा डिजिटल अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, व्यक्तिगत सूचना तथा डेटा सुरक्षा, साइबर सुरक्षा, एआईको प्रयोगलगायतका विषयमा प्रशिक्षण दिइने भएको छ ।

कार्यशालाको उद्देश्य र समेटिने विषयवस्तुबारे जानकारी दिँदै डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देलले संस्थाले प्रत्येक वर्ष विभिन्न क्षेत्रमा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएको बताए । यस वर्ष पत्रकारिताको क्षेत्रमा डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै देखिएका अवसर र चुनौतीलाई ध्यानमा राखेर पत्रकारलाई लक्षित गरी कार्यशाला आयोजना गरिएको उनको भनाइ थियो ।

उनले पछिल्लो समय पत्रकारिता डिजिटल प्लेटफर्मसँग अभिन्न रूपमा जोडिँदै गएको अवस्थामा पत्रकारले आफ्नो डिजिटल अधिकारका साथै स्रोत, सूचना र व्यक्तिगत विवरणको सुरक्षाबारे समेत सचेत हुनुपर्ने आवश्यकता रहेको बताए । डिजिटल माध्यमको प्रयोग गर्दा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता र सुरक्षित सूचनाको अधिकारबीच सन्तुलन कायम गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यशालाको उद्घाटन सत्रमा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले पत्रकारले डिजिटल प्रविधि र प्लेटफर्मको प्रयोग गर्दा नागरिकको अभिव्यक्ति स्वतन्त्रता तथा पत्रकारको प्रेस र अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्ने विषय सँगसँगै आउने बताइन् । बदलिँदो प्रविधि र सञ्चार माध्यमको स्वरूपअनुसार पत्रकारहरू निरन्तर अपडेट हुनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । उनले डिजिटल माध्यमबाट सूचना प्रवाह गर्ने क्रममा पत्रकारले आफ्नो अधिकारसँगै जिम्मेवारीलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने बताइन् ।

त्यसैगरी नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले डिजिटल प्लेटफर्मको बढ्दो प्रभावका बीच पत्रकारहरूले त्यसको सही प्रयोगबारे जानकारी राख्नुपर्ने बताए । डिजिटल प्रविधिसम्बन्धी ज्ञान र सीप हासिल गरेर पत्रकारले आफ्नो हक तथा अधिकारको प्रभावकारी रूपमा प्रयोग गर्न सक्ने उनको भनाइ थियो ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालले डिजिटल प्रविधिको तीव्र विकाससँगै पत्रकारिता क्षेत्रमा नयाँ चुनौती थपिँदै गएको बताए । डिजिटल माध्यमबाट सूचना सम्प्रेषण गर्ने क्रममा पत्रकारले विभिन्न प्राविधिक तथा सुरक्षासम्बन्धी जोखिम सामना गर्नुपर्ने अवस्था रहेको भन्दै उनले यस्ता चुनौती सामना गर्न कार्यशालाले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

दुई दिनमा डिजिटल अधिकारदेखि एआईसम्मका विषयमा छलफल हुनेछ । पहिलो दिन डिजिटल अधिकारको अवधारणा र दायरा, डिजिटल अधिकार र मौलिक मानव अधिकारबीचको सम्बन्ध तथा डिजिटल नागरिक क्षेत्रको महत्व लगायतबारे छलफल गरिएको छ । दोस्रो दिन डिजिटल सुरक्षा तथा व्यक्तिगत र संस्थागत तहको साइबर सुरक्षा लगायतलाई केन्द्रमा राखिएको छ । कार्यक्रमको सञ्चालन सन्जिना क्षेत्रीले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0