पोखरा । लायन्स क्लब अफ पोखरा ग्रीन सिटीले श्रीकृष्ण माध्यमिक विद्यालय, मासबार पोखरामा सञ्चालन हुँदै आएको ३६ महिने तेक्वान्दो प्रशिक्षण कार्यक्रमअन्तर्गत बेल्ट टेष्ट, प्रमोसन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ । आइतबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा तेक्वान्दो खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा प्रशिक्षकलाई सम्मानसमेत गरिएको थियो ।
तेक्वान्दो खेलमार्फत जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सम्मान गरिएको हो । साथै प्रशिक्षणमा सहभागी विद्यार्थीहरूलाई उनीहरूको स्तरअनुसार बेल्ट प्रमोसन तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल ३२५ एम नेपालका पिडिजी चण्डी प्रसाद अर्यालले बालबालिकालाई आत्मरक्षाका लागि सक्षम बनाउनुका साथै खेलकुद क्षेत्रमा अगाडि बढ्न चाहने विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएकोमा खुशी व्यक्त गरे । उनले विद्यालय तहबाटै खेलकुदको विकास र प्रतिभा पहिचान गर्न सके भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत उत्कृष्ट खेलाडी उत्पादन गर्न सकिने बताए । विद्यार्थीको प्रतिभा विकासका लागि विद्यालय, अभिभावक, प्रशिक्षक तथा सामाजिक संस्थाबीच सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए ।
आयोजक लायन्स क्लब अफ पोखरा ग्रीन सिटीका अध्यक्ष नारायण प्रसाद उपाध्यायले बालबालिकाको आत्मरक्षा क्षमता विकाससँगै खेलकुद क्षेत्रमा उनीहरूको प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यले तेक्वान्दो प्रशिक्षण सञ्चालन गरिएको बताए । उनले तेक्वान्दोमा स्वर्ण, रजत तथा कास्य पदक जित्न सफल खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए । अध्यक्ष उपाध्यायले लायन्स क्लबले तेक्वान्दो प्रशिक्षणसँगै विभिन्न सामाजिक गतिविधिलाई पनि निरन्तरता दिँदै आएको बताए । विगतमा तेक्वान्दो सिकाउने तथा प्रशिक्षण दिने अवसर सीमित स्थानमा मात्र हुने गरेको भए पनि पछिल्लो समय विभिन्न विद्यालय तथा समुदायमा यसको पहुँच विस्तार हुँदै गएको उनको भनाइ थियो ।
तेक्वान्दोले बालबालिकालाई आत्मरक्षा गर्न सक्षम बनाउनुका साथै अनुशासन, एकाग्रता र आत्मविश्वास विकास गर्न सहयोग गर्ने उपाध्यायले बताए । प्रशिक्षणबाट सिकेका सकारात्मक कुरा अन्य भाइबहिनीलाई पनि सिकाउन उनले विद्यार्थीलाई आग्रह गरे । खेलकुदले शरीरसँगै दिमागलाई फ्रेस र एकाग्र राख्न सहयोग गर्ने भएकाले यसको सकारात्मक प्रभाव पढाइमा समेत पर्ने उनको भनाइ थियो ।

माछापुच्छ्रे तेक्वान्दो डोजाङका प्रशिक्षक तथा जोन चियर पर्सन बलराम लामाले श्रीकृष्ण माविको सहयोगमा विद्यालय परिसरमै नियमित रूपमा तेक्वान्दो प्रशिक्षण सञ्चालन भइरहेको जानकारी दिए । उनका अनुसार विद्यालयमा अध्ययनरत न्यून आयस्रोत भएका विद्यार्थीलाई समेत खेलकुदको अवसर उपलब्ध गराउने उद्देश्यले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकसँग समन्वय गरी तीन जना विद्यार्थीबाट प्रशिक्षण सुरु गरिएको थियो । ती विद्यार्थीले जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी भएर पदकसमेत जित्न सफल भएको लामाले बताए । अहिले विद्यालयमा करिब ६० जना विद्यार्थीले नियमित तेक्वान्दो प्रशिक्षण लिइरहेको उनले जानकारी दिए ।
विद्यालयमै सञ्चालन गरिएको प्रशिक्षणले खेलाडी उत्पादनमा महत्वपूर्ण सहयोग पुगेको र विद्यार्थीहरूले विभिन्न प्रतियोगितामा पदक जित्न थालेको उनले बताए । खेलाडीको उपलब्धिसँगै विद्यालय तथा अभिभावकसमेत तेक्वान्दो खेलप्रति आकर्षित हुँदै गएको र उनीहरूबाट आवश्यक साथ तथा सहयोग प्राप्त भइरहेको लामाको भनाइ थियो ।लामा आफू लायन्स क्लबमा समेत आबद्ध रहेकाले तेक्वान्दो खेलको विकास र लायन्स क्लबको सामाजिक सेवाको कामलाई सँगसँगै अगाडि बढाइरहेको बताए ।
कार्यक्रममा एरिया चिफ कुलचन्द्र शर्मा, श्रीकृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष पुरुषोत्तम रेग्मी, विद्यालयका प्रधानाध्यापक प्रेम चापागाईं, क्लबका उपाध्यक्ष विश्व कल्याण अधिकारी, सचिव निसान थापा लगायतले बोलेका थिए ।
















