पोखरा । प्राप्त अधिकारको रक्षा गर्दै पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा साझा प्रतिबद्धता जनाउँदै पोखरामा ३२औँ विश्व आदिवासी जनजाति दिवस मनाइएको छ। आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश समन्वय परिषद्को आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीको सहआयोजनामा विविध कार्यक्रम गरी दिवस मनाइएको हो।
प्रतिनिधिसभा सदस्य पर्शुराम तामाङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रभातफेरी र्यालीसँगै बृहत् सांस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम गरिएको थियो। विभिन्न जातजातिका मौलिक भेषभूषा, संस्कृति र परम्परागत प्रस्तुतिसहित निकालिएको र्यालीले पोखराको सांस्कृतिक विविधतालाई झल्काएको थियो।
कार्यक्रममा बोल्दै तमु धि नेपालका अध्यक्ष हुमबहादुर गुरुङले आदिवासी जनजातिको आन्दोलन सत्ताको वरिपरि केन्द्रित हुँदा कमजोर बनेको टिप्पणी गरे। आदिवासी जनजातिका सवालमा राज्यले गरेको विभेदविरुद्ध आवाज उठाउने र आन्दोलनमा होमिने समय आएको उनको भनाइ थियो। आदिवासी जनजातिको अधिकार स्थापित गर्न सबै समुदाय एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिँदै गुरुङले प्राप्त उपलब्धिको संरक्षणसँगै बाँकी अधिकारका लागि निरन्तर संघर्ष आवश्यक रहेको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश सभापति नवीन त्रिपाठीले आदिवासी जनजातिको नाममा अहिलेसम्म राजनीति मात्रै भएको टिप्पणी गरे। आदिवासी जनजातिको मुद्दालाई राजनीतिको भर्याङका रूपमा मात्र प्रयोग गरिएको अनुभूति हुने गरेको उनको भनाइ थियो। उनले आदिवासी जनजातिको प्रतिनिधिमूलक संस्था निर्माण हुन नसक्दा सरकारले विभिन्न आयोग, निकाय तथा प्रतिष्ठान खारेज गर्ने अवस्था आएको बताए। सरकारले केही संस्थालाई खारेज गर्नुका साथै पुनर्गठनसमेत गरिरहेको उल्लेख गर्दै त्रिपाठीले आवश्यकता र प्रभावकारिताका आधारमा त्यस्ता प्रतिष्ठान तथा निकायलाई पुनःस्थापना गर्नुपर्ने धारणा राखे। उनका अनुसार आदिवासी जनजातिका अधिकार र पहिचानसँग जोडिएका संस्थालाई प्रभावकारी बनाउन राज्यले स्पष्ट नीति र दीर्घकालीन दृष्टिकोणका साथ काम गर्न आवश्यक छ।
नेवा दे दवु गण्डकी प्रदेश अध्यक्ष मथुरा श्रेष्ठले जातीय पहिचानभित्र समुदायको संस्कार, संस्कृति र धर्मसमेत जोडिएको बताए। आफ्नो पहिचानलाई केवल नारामा सीमित नराखी संस्थागत र संरक्षण गर्न सक्नुपर्नेमा उनले जोड दिए।
आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश समन्वय परिषद्का अध्यक्ष ओमप्रसाद गौचनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कास्कीका कार्यवाहक अध्यक्ष अशोक भट्टचन, दुरा समाज कास्कीका अध्यक्ष गोविन्द दुरा, नेपाल मगर संघ गण्डकी प्रदेश अध्यक्ष दानबहादुर थापामगरलगायतले आदिवासी जनजातिका अधिकार, पहिचान, भाषा, संस्कृति र परम्पराको संरक्षणका विषयमा धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन महासंघ गण्डकी प्रदेशका महासचिव सुजन तामाङले गरेका थिए। दिवसको मुख्य आकर्षणका रूपमा विभिन्न आदिवासी जनजाति समुदायका मौलिक सांस्कृतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो।
















