पोखरा । पोखरा महानगरपालिका–५ मा आयोजना हुन लागेको श्रीमद्भागवत महापुराणलाई सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले वडा स्तरीय बृहत् आम भेला सम्पन्न भएको छ।

श्रीमद्भागवत महापुराण तथा सन्तानेश्वर शिव मन्दिर पुनर्निर्माण अभियानलाई सफल बनाउन आयोजित भेलामा वडा नं. ५ का सामाजिक, राजनीतिक तथा धार्मिक व्यक्तित्व, विभिन्न आमा समूह, टोल विकास संस्था, संघ–संस्था, युवा, ज्येष्ठ नागरिक तथा जनप्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

भेलामा पोखरा महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विष्णुप्रसाद बराल, कार्यपालिका सदस्य हरिमाया विश्वकर्मा तथा वडा सदस्यहरू कल्पना भुवाजी र गोविन्द पराजुलीलगायतको उपस्थिति रहेको थियो।

भेलामा सहभागीहरूले श्रीमद्भागवत महापुराणलाई वडा नं. ५ को साझा धार्मिक तथा सामाजिक अभियानका रूपमा अघि बढाउँदै सभ्य, भव्य र सफल रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। महापुराण सफल बनाउन आवश्यक पर्ने सहयोगका लागि आफूहरूले तन, मन र धनले साथ दिने उनीहरूले बताएका थिए।

भेलाको अध्यक्षता प्रस्याङ बगैँचा पार्क व्यवस्थापन समिति तथा सन्तानेश्वर शिव मन्दिर पुनर्निर्माण व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद पराजुलीले गरेका थिए । कार्यक्रमको सञ्चालन समितिका सचिव लक्ष्मणप्रसाद कोइरालाले गरेका थिए भने श्रीमद्भागवत महापुराण प्रचार–प्रसार उपसमिति संयोजक तथा पार्क एवं मन्दिर निर्माण समितिका कार्यसमिति सदस्य लक्ष्मण बरालले संयोजन गरेका थिए ।

कार्यक्रममा सचिव लक्ष्मणप्रसाद कोइरालाले श्रीमद्भागवत महापुराण आयोजना गर्नुको उद्देश्य, तयारी तथा आवश्यक व्यवस्थापनका विषयमा जानकारी गराए । उनका अनुसार हालसम्म संरक्षक परिवार, व्यवस्थापन समितिका सदस्य तथा केही सहयोगी मनहरूबाट गरी ७० लाख रुपैयाँ सहयोग प्राप्त भइसकेको छ।

महापुराणको आयोजना धार्मिक कार्यक्रम सञ्चालनमा मात्र सीमित नभई सन्तानेश्वर शिव मन्दिरको पुनर्निर्माण, धार्मिक सम्पदाको संरक्षण तथा भावी पुस्तासम्म यसको ऐतिहासिक र धार्मिक महत्व हस्तान्तरण गर्ने उद्देश्यसँग जोडिएको आयोजक समितिले जनाएको छ।

कार्यक्रममा सन्तानेश्वर शिव मन्दिरको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वबारे समितिका अध्यक्ष शिवप्रसाद पराजुलीले प्रकाश पारेका थिए । उनले मन्दिर स्थानीय समुदायको धार्मिक आस्थाको केन्द्र मात्र नभई यस क्षेत्रको सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग समेत जोडिएको बताउँदै यसको संरक्षण र पुनर्निर्माणमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे ।

त्यस्तै, महापुराणलाई वडा नं. ५ का सम्पूर्ण वडावासीको साझा कार्यक्रमका रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै अर्थ समिति संयोजक पुरुषोत्तम पराजुलीले सबै वडावासीलाई सक्रिय सहभागिता र सहयोगका लागि आह्वान गरे । उनले धार्मिक तथा सामाजिक कार्यमा समुदायको एकता र सहकार्य महत्वपूर्ण हुने बताउँदै महापुराणलाई सफल बनाउन सबै पक्षको सकारात्मक सहयोग आवश्यक रहेको उल्लेख गरे ।

प्रचार–प्रसार संयोजक लक्ष्मण बरालका अनुसार सन्तानेश्वर शिव मन्दिरको पुनर्निर्माण कार्यसमेत सुरु भइसकेको छ। मन्दिर पुनर्निर्माणको पहिलो चरणको काम असोज मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए ।

आयोजकका अनुसार श्रीमद्भागवत महापुराण आगामी भदौ १७ गतेदेखि २४ गतेसम्म शिवालय मन्दिर प्राङ्गणमा सञ्चालन हुनेछ। महापुराणमा पण्डित श्री दीपकप्रसाद पौडेलले कथा वाचन गर्नेछन् ।

महापुराणको माध्यमबाट धार्मिक आस्था, संस्कार र संस्कृतिको संरक्षणसँगै स्थानीय समुदायलाई एकताबद्ध गर्ने तथा धार्मिक सम्पदाको संरक्षण र संवर्द्धन गर्ने लक्ष्य आयोजक समितिले लिएको छ।

आयोजक समितिले वडा नं. ५ का सम्पूर्ण वडावासी, आमा समूह, टोल विकास संस्था, युवा, ज्येष्ठ नागरिक, सामाजिक संघ–संस्था, व्यवसायी तथा धर्मप्रेमी महानुभावहरूलाई महापुराणमा सक्रिय सहभागिता जनाउन तथा आर्थिक, भौतिक र नैतिक सहयोग गर्न आग्रह गरेको छ।

सन्तानेश्वर शिव मन्दिर पुनर्निर्माण तथा श्रीमद्भागवत महापुराण आयोजना स्थानीय समुदायको साझा अभियान भएकाले सबैको सहयोग र सहभागिताबाट धार्मिक सम्पदाको संरक्षणसँगै सामाजिक एकता र सद्भावलाई समेत थप मजबुत बनाउने विश्वास आयोजक समितिले व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0