पोखरा । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले आफ्नो आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रालि मार्फत पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। पोखरा महानगरपालिका–१०, बुद्धचोकस्थित सर्भिस सेन्टर सञ्चालनसँगै पोखरामा बीवाईडीको थ्री–एस (सेल्स, सर्भिस तथा स्पेयर पार्ट्स) सुविधा पूर्ण रूपमा उपलब्ध भएको कम्पनीले जनाएको छ।
नवनिर्मित सर्भिस सेन्टरको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरे । कम्पनीका अनुसार यो सेवा विस्तारले गण्डकी प्रदेश तथा आसपासका क्षेत्रका बीवाईडी ग्राहकलाई गुणस्तरीय, भरपर्दो र सहज बिक्रीपछिको सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।
साइमेक्स इंकका हेड अफ सर्भिस सुशील तण्डुकारले बीवाईडीसँग ग्राहकको सम्बन्ध सवारी बिक्रीपछि पनि निरन्तर रहने उल्लेख गर्दै विश्वस्तरीय पूर्वाधार, दक्ष प्राविधिक, जेन्युइन स्पेयर पार्ट्स तथा ग्राहक–केन्द्रित सेवामार्फत उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालमा विद्युतीय सवारीको बजार विस्तारसँगै देशव्यापी सेवा सञ्जाललाई अझ सुदृढ बनाउने कम्पनीको योजना रहेको बताए ।
करिब ७ हजार २३३ वर्गफिट क्षेत्रफलमा फैलिएको सर्भिस सेन्टरमा चारवटा आधुनिक भेइकल लिफ्ट, हाई–भोल्टेज प्रणालीका लागि विशेष कार्यक्षेत्र, जेन्युइन स्पेयर पार्ट्स स्टोरेज तथा डेडिकेटेड भेइकल वासिङ बे लगायतका सुविधा रहेका छन्। दैनिक १५ देखि १६ वटा सवारीसाधनलाई सेवा दिन सक्ने क्षमता रहेको यस केन्द्रबाट नियमित मर्मत, ब्याट्री परीक्षण, मेकानिकल तथा इलेक्ट्रिकल रिपेयर, डेन्ट तथा पेन्ट, रोडसाइड असिस्टेन्स, वारेन्टी सेवा र व्यक्तिगत ग्राहक सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनु नेपालमा विद्युतीय सवारी क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि हो। आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा नयाँ पुस्ताका विद्युतीय सवारी सार्वजनिक गर्ने तयारीसँगै कम्पनीले बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्दै नेपाली बजारप्रतिको दीर्घकालीन प्रतिबद्धतालाई थप बलियो बनाएको जनाएको छ।
















