पोखरा । जिल्ला समन्वय समिति (जिसस) कास्कीले आफ्नो नवौँ स्थापना दिवस बुधबार विविध कार्यक्रमका साथ मनाएको छ। स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले सङ्घीय शासन प्रणालीमा जिल्ला समन्वय समितिको भूमिका दिनप्रतिदिन महत्वपूर्ण बन्दै गएको उल्लेख गर्दै सीमित स्रोत–साधन, बजेट र अधिकारका बाबजुद पनि समितिले प्रभावकारी रूपमा काम गरिरहेको बताएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै जिसस कास्कीका प्रमुख लिलाधर पौडेलले सङ्घीय, प्रदेश तथा स्थानीय सरकारका कामकारबाहीमा हुने ढिलासुस्ती, अनियमितता तथा जनसरोकारका विषयमा जिल्ला समन्वय समितिले निरन्तर आवाज उठाउँदै आएको बताए। उनले प्रदेश सरकारले जिल्ला समन्वय समितिका लागि आवश्यक बजेट विनियोजन नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे। जनप्रतिनिधिहरूले जनताको अपेक्षा अनुसार सेवा प्रवाह र विकास निर्माणलाई प्रभावकारी बनाउन सबै तहबीच समन्वय आवश्यक रहेको उनको भनाइ थियो।

गाउँपालिका महासङ्घ गण्डकीका अध्यक्ष नवराज ओझाले संविधान निर्माणका क्रममा जिल्ला समन्वय समितिको भूमिकालाई पर्याप्त स्पष्टता र प्राथमिकता दिन नसकिएकाले कार्यसम्पादनमा चुनौती देखिएको बताए। अहिले प्राप्त अधिकारको प्रभावकारी प्रयोग गर्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने खालका काम गर्नुपर्नेमा उनले जोड दिए।

जिसस कास्कीका पूर्व प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले जिल्ला समन्वय समिति संविधानले व्यवस्था गरेको निकाय भएकाले संविधानको मर्मअनुसार यसलाई काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति उर्मिला खड्का, वातावरण संरक्षणका लागि महाअभियानका संयोजक रामबहादुर पौडेल, साविक जिल्ला विकास समिति कास्कीका सभापति पुण्यप्रसाद पौडेल, उपसभापति श्रीनाथ बराल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका अधिकारी, जिसस कास्कीकी पूर्व उपप्रमुख सावित्री तिमिल्सिना, नेपाल कम्युनिस्ट पार्टी कास्कीका संयोजक खड्ग हमाल, राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका उपाध्यक्ष चिनबहादुर गुरुङ, शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, पोखरा महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मुक्तिराम अर्याल, अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

स्थापना दिवसको अवसरमा ‘कास्की जिल्लाको सन्तुलित विकासमा जिल्ला समन्वय समितिको भूमिका’ शीर्षकमा निबन्ध प्रतियोगिता पनि आयोजना गरिएको थियो। प्रतियोगितामा कास्की जिल्लाका विभिन्न विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ जना विद्यार्थीको सहभागिता रहेको थियो।

प्रतियोगितामा मर्निङ स्टार बोर्डिङ स्कुलका सक्षम अधिकारी प्रथम, सृजना माध्यमिक विद्यालयका आयुष पौडेल द्वितीय, रेन्बो एकेडेमी होम्सकी एन्जी भुजेल तृतीय तथा बिन्देश्वरी माध्यमिक विद्यालय, पोखरा–१९ की एलिया अधिकारी सान्त्वना स्थान हासिल गर्न सफल भए।

विजेताहरूले क्रमशः १० हजार, ७ हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँ नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगिताको निर्णायकमा प्राध्यापक डा. बोधराज ढकाल, प्रदीप पौडेल र लक्षु शर्मा रहेका थिए। विजयी विद्यार्थीलाई जिसस कास्कीका प्रमुख लिलाधर पौडेल, उपप्रमुख सरिता माल, जिससका सदस्यहरू तथा जिल्ला समन्वय अधिकारी नवराज बरालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।


जिसस कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न स्थापना दिवस समारोहमा उपप्रमुख सरिता मालले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए। कार्यक्रममा सहभागीहरूले जिल्ला समन्वय समितिलाई थप प्रभावकारी बनाउन आवश्यक स्रोत, साधन र अधिकार विस्तार गर्दै तीनै तहका सरकारबीच समन्वयकारी भूमिकालाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0