पोखरा । २०८० फागुन १९ गतेदेखि कुलपतिविहीन रहेको पोखरा प्रज्ञा प्रतिष्ठानले झण्डै साढे दुई वर्षपछि नयाँ नेतृत्व पाएको छ। पोखरा महानगरपालिकाले बुधबार प्रतिष्ठानको कुलपति, उपकुलपति, सदस्य–सचिव, प्राज्ञ परिषद् सदस्य तथा प्राज्ञ सभा सदस्यलाई मनोनयनपत्र प्रदान गर्दै प्रतिष्ठानलाई पुनः सक्रिय बनाउने प्रक्रिया अघि बढाएको हो।
पोखरा महानगरपालिकाका प्रमुख तथा प्रतिष्ठानका संरक्षक धनराज आचार्यले बुधबार मनोनयनपत्र हस्तान्तरण गरेका हुन्। यसअघि महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा गठित सिफारिस समितिले कुलपति, उपकुलपति, सदस्य–सचिवसहित कुल १७ जनाको नाम सिफारिस गरेको थियो। समितिमा तीर्थ श्रेष्ठ र ज्ञानबहादुर थापा सदस्य रहेका थिए।
पदाधिकारी
कुलपति – सरस्वती लालचन ‘प्रतिक्षा’ (भाषा तथा साहित्य)
उपकुलपति – तिलक पुर्जा पुन मगर (कला तथा साहित्य)
सदस्य–सचिव – जीवन दाहाल (लोकगीत तथा सङ्गीत)
प्राज्ञ परिषद् सदस्य
श्रीजङ्ग गुरुङ (नृत्य)
हरेराम जोजिजु (फाइन आर्ट/ललितकला)
दिलीप गायक (सङ्गीत तथा वाद्यवादन)
प्रमिला ताम्राकार तुलाचन (रङ्गमञ्च तथा अभिनय)
प्राज्ञ सभा सदस्य
कल्पना चिलुवाल (साहित्य)
कृष्णप्रसाद गौतम (संस्कृति)
गमबहादुर परियार ‘गम्भीर बर्देवा’ (नृत्य निर्देशन तथा कलाकार)
ज्योति गुरुङ (फाइन आर्ट/ललितकला)
नवराज अधिकारी (लेखनाथ साहित्य प्रतिष्ठान)
प्रेमराज अधिकारी (लोकगीत तथा सङ्गीत, गीतकार)
भास्करध्वज श्रेष्ठ (सङ्गीत तथा व्याण्ड)
रविन्द्र माकाजु (साहित्य तथा इतिहास)
रीता पहारी (साहित्य तथा कला)
शिवहरी ढुंगाना (लोक तथा दोहोरी गीत–सङ्गीत)
अघिल्लो कार्यकालपछि लामो समय रिक्त
पोखरा प्रज्ञा प्रतिष्ठानका पहिलो कुलपति पदमराज ढकाल २०७७ साल फागुन १९ गते तीन वर्षका लागि नियुक्त भएका थिए। उनको कार्यकाल २०८० फागुन १८ गते सकिएपछि प्रतिष्ठान झण्डै साढे दुई वर्षसम्म नेतृत्वविहीन अवस्थामा रहेको थियो। यस अवधिमा प्रतिष्ठानका गतिविधि लगभग ठप्प भएका थिए।
यसैबीच प्रतिष्ठानको कार्यालय पनि दरबारथोकस्थित मासिक २२ हजार रुपैयाँ भाडा तिर्ने कार्यालयबाट पृथ्वीचोकमा स्थानान्तरण गरिएको छ।
किन आवश्यक छ स्थानीय प्रज्ञा प्रतिष्ठान
नेपालमा २०१४ साल असार ९ गते नेपाली साहित्य कला एकेडेमी स्थापना भएको थियो। त्यसपछि नेपाल एकेडेमी हुँदै नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका रूपमा विकसित भएको संस्थालाई संघीय शासन व्यवस्थापछि कार्यविभाजन गरी नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका रूपमा सञ्चालन गरियो।
तर सीमित बजेट र केन्द्रमुखी गतिविधिका कारण देशभरका भाषा, साहित्य, कला, संस्कृति तथा लोकपरम्पराको संरक्षण र प्रवर्द्धन प्रभावकारी रूपमा हुन नसकेपछि स्थानीय तहमा पनि प्रज्ञा प्रतिष्ठान आवश्यक भएको महसुस गरियो। यही अवधारणाअनुसार पोखराबाट स्थानीय प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने अभ्यास सुरु भएको थियो। त्यसपछि प्रदेश तथा स्थानीय तहमा पनि यस्ता प्रतिष्ठान स्थापना हुने क्रम बढ्यो।
ऐन संशोधनपछि नयाँ व्यवस्था
मनोनयनपत्र हस्तान्तरण कार्यक्रममा बोल्दै महानगर प्रमुख धनराज आचार्यले अघिल्लो कार्यकालमा देखिएका कमजोरीलाई सम्बोधन गर्दै प्रतिष्ठानसम्बन्धी ऐनमा संशोधन गरिएको जानकारी दिए।
उनका अनुसार पहिले प्रमुख प्रशासकीय अधिकृत सदस्य–सचिव रहने व्यवस्था हटाएर अब कुलपति र सदस्य–सचिवलाई पूर्णकालीन (फुल टाइम) जिम्मेवारी दिने व्यवस्था गरिएको छ। साथै प्रतिष्ठानको कार्यकाल चार वर्षको हुने व्यवस्था गरिएको उनले बताए।
संरक्षक आचार्यले पोखराको भाषा, साहित्य, कला, संस्कृति तथा मौलिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा प्रतिष्ठानले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।
छनोट समितिको विश्वास
उपप्रमुख तथा छनोट समितिकी संयोजक मञ्जुदेवी गुरुङले भाषा, साहित्य, कला र संस्कृतिको समग्र विकासलाई ध्यानमा राखेर विभिन्न विधाका व्यक्तित्वलाई प्रतिष्ठानमा सिफारिस गरिएको बताइन्।
उनले पोखरालाई साहित्य, सङ्गीत, लोकसाहित्य र संस्कृतिको केन्द्रका रूपमा स्थापित गर्न नवगठित नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।
कुलपति प्रतिक्षा : “साना कार्यक्रम होइन, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रभाव पार्ने योजना आवश्यक”
नवनियुक्त कुलपति सरस्वती लालचन ‘प्रतिक्षा’ ले मनोनयनसँगै ठूलो जिम्मेवारी आएको बताउँदै प्रतिष्ठानको सफलताका लागि सबै पदाधिकारी, प्राज्ञ परिषद् र प्राज्ञ सभा सदस्यको साझा स्वामित्व र सक्रिय सहकार्य आवश्यक पर्ने धारणा राखिन्।
उनले देशकै ठूलो महानगरको प्रतिष्ठान भएकाले यसप्रति अपेक्षा पनि ठूलो रहेको उल्लेख गर्दै तत्कालीन लोकप्रियताभन्दा दीर्घकालीन प्रभाव पार्ने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन्।
“साना–साना कार्यक्रमभन्दा समय लिएर भए पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा छाप छोड्ने कार्यक्रम सञ्चालन गर्नुपर्छ,” उनले भनिन्। सीमित बजेटलाई ध्यानमा राख्दै “यो जिम्मेवारी हाफ म्याराथन जस्तै हो, धैर्य र योजनाबद्ध रूपमा अघि बढ्नुपर्छ” भन्ने धारणा पनि उनले व्यक्त गरिन्।
अब सक्रियताको अपेक्षा
झण्डै साढे दुई वर्ष नेतृत्वविहीन भएर निष्क्रियजस्तै बनेको पोखरा प्रज्ञा प्रतिष्ठानले नयाँ नेतृत्व पाएसँगै भाषा, साहित्य, कला, संस्कृति, लोकसङ्गीत, इतिहास, नाट्यकला तथा ललितकलाका क्षेत्रमा नयाँ ऊर्जा प्राप्त गर्ने अपेक्षा गरिएको छ। स्थानीय प्रतिभाको संरक्षण, अनुसन्धान, प्रकाशन, प्रशिक्षण तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका सिर्जनात्मक कार्यक्रममार्फत पोखरालाई सांस्कृतिक राजधानीका रूपमा स्थापित गर्ने दायित्व अब नवगठित नेतृत्वको काँधमा आएको छ।















