पोखरा । नेपाली रङ्गमञ्चका अग्रणी रङ्गकर्मी तथा निर्देशक अनुप बरालले पोखरामा ‘द कोर्ट’ नाटक मञ्चन गर्दै निर्माणाधीन हंसध्वनि थिएटरका लागि सहयोग अभियान सञ्चालन गरेका छन् । वात्स्यायन फाउन्डेसन र द एक्टर्स स्टुडियोको संयुक्त आयोजनामा प्रस्तुत नाटकले युवापुस्ताको मानसिक स्वास्थ्य, सामाजिक दबाब, प्रतिस्पर्धा र आत्मपहिचानको विषयलाई कलात्मक रूपमा उठाएको छ।
सोमबार नाटक मञ्चनको अवसरमा बोल्दै बरालले नेपालमा कला, संस्कृति र विचार विमर्श गर्ने स्थायी स्थानको अभाव लामो समयदेखि महसुस हुँदै आएको बताए । यही आवश्यकता पूरा गर्न हंसध्वनि थिएटर निर्माणको अभियान सुरु गरिएको उल्लेख गर्दै उनले यसलाई केवल नाटक मञ्चन गर्ने स्थल नभई कलाकार, विद्यार्थी, स्रष्टा र आम नागरिकबीच विचार आदानप्रदान हुने साझा चौतारीका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए।
उनले पोखरा मात्र होइन, देशका विभिन्न स्थानका विद्यालय, कलेज र समुदायमा फरक–फरक विषयका नाटक लिएर पुग्ने योजना रहेको जानकारी दिए। ‘यो दुःख बिसाउने, संवाद गर्ने र नयाँ सोच जन्माउने थलो हो। हामीले जति संवाद गर्छौं, त्यति नै व्यक्तिगत र सामाजिक विकास हुन्छ,’ उनले भने।
बरालले नेपाललाई चिनाउने चर्चा प्रायः सगरमाथा र लुम्बिनीमा सीमित हुने गरेको उल्लेख गर्दै अब रङ्गमञ्च, सङ्गीत, नृत्य, साहित्य र सांस्कृतिक सिर्जनालाई पनि विश्वमाझ चिनाउनुपर्ने आवश्यकता औंल्याए। ‘माटोको स्वाद, हाम्रो संस्कृति र सिर्जनात्मक पहिचानको पनि उत्तिकै चर्चा हुनुपर्छ,’ उनले भने।
सङ्घर्षबाट स्थापित भएको नेपाली रङ्गमञ्च
नेपाली रङ्गमञ्चको यात्रा निकै कठिन रहेको स्मरण गर्दै बरालले प्रारम्भिक दिनमा काठमाडौँमा नाटक मञ्चन गर्दा कहिलेकाहीँ दुई जना मात्र दर्शक हुने अवस्था आएको सुनाए। कतिपय अवस्थामा निर्देशकले आफैं टिकट किनेर कलाकारलाई हौसला दिने गरेको अनुभव सुनाउँदै उनले निरन्तर अभ्यास र धैर्यका कारण आज नेपाली रङ्गमञ्चले सम्मानजनक स्थान बनाउन सफल भएको बताए।
‘करिब १० वर्षको निरन्तर मेहनतपछि मात्रै राम्रो नाटक हुँदा दर्शकको कमी नहुने वातावरण बनेको हो,’ उनले भने। अहिलेको उपलब्धि संघर्ष, समर्पण, माया र त्यागको परिणाम भएको उनको भनाइ थियो।
पोखरामा स्थायी रङ्गमञ्च निर्माणको सपना
भाडामा सञ्चालन हुने नाट्यस्थलले दीर्घकालीन योजना कार्यान्वयन गर्न कठिन हुने भएकाले आफ्नै स्थायी पूर्वाधार निर्माण गर्न पोखरा रोजिएको बरालले बताए।
‘हरेक पटक ठाउँ परिवर्तन गर्दा फेरि शून्यबाट सुरु गर्नुपर्ने हुन्छ। त्यसैले आफ्नै जग्गामा स्थायी थिएटर बनाएर दीर्घकालीन रूपमा काम गर्ने सोचका साथ पोखरा आएका हौं,’ उनले भने।
उनले नयाँ कलाकारलाई अवसर दिँदै उनीहरूको मेहनत र समर्पण प्रशंसनीय रहेको उल्लेख गरे। ‘आफ्नो भूगोल छोडेर जानु हुँदैन। आफ्नै ठाउँमा बसेर सिर्जना गर्न सकिन्छ भन्ने आत्मविश्वास विकास भएको छ,’ उनले थपे ।
मानसिक स्वास्थ्यको कथा बोकेको ‘द कोर्ट’
सोमबार मञ्चन भएको ‘द कोर्ट’ नाटकले २२ वर्षीय विवेकको जीवनमार्फत युवापुस्ताले भोग्ने पारिवारिक अपेक्षा, करिअरको दबाब, विदेश जाने सपना, सामाजिक सञ्जालको प्रभाव र मानसिक तनावलाई प्रस्तुत गरेको छ। नाटकमा डिप्रेसनलाई लुकाइने विषय नभई समाजले खुला रूपमा छलफल गर्नुपर्ने वास्तविक समस्याका रूपमा चित्रण गरिएको छ।
नाटकमा नौर क्षेत्रीले विवेकको मुख्य भूमिका निर्वाह गरेका छन् । त्यसैगरी रेवन राई र अदित भुजेल कमेन्टेटर, उज्ज्वलराज ढकाल रेफ्री, कृष्टि गुरुङ मनोपरामर्शदाता, सुमन तिमिल्सिना विवेकका बुबा, विपना विश्वकर्मा विवेककी आमा, विक्रम तामाङ विवेकका साथी सागरको भूमिकामा देखिएका छन्।
कोरसमा सर्जम राई, अञ्जली कुँवर, सनम पुन, कृष्टि गुरुङ, उज्ज्वल ढकाल, सुमन तिमिल्सिना, विपना विश्वकर्मा र विक्रम तामाङले साथ दिएका थिए ।

प्राविधिक टोली
नाटकका लेखक तथा निर्देशक अनुप बराल हुन्। निश्चल बिमल सहायक निर्देशक तथा सेट डिजाइनर, दीया मास्के नृत्य निर्देशक, उज्ज्वल ढकाल मञ्च व्यवस्थापक, रोशनी भेषभूषा प्रमुख रहेका छन्। संगीत संयोजनमा नवीन गुरुङ, मिलन गिरी, विवेक, लक्ष्मण डुम्रे र धनकाजी श्रेष्ठ रहेका छन्।
सहयोग संकलन अभियान
द एक्टर्स स्टुडियोको प्रस्तुति तथा वात्स्यायन फाउन्डेसनको आयोजनामा मञ्चन गरिएको नाटकसँगै निर्माणाधीन हंसध्वनि थिएटरका लागि सहयोग संकलन अभियान पनि सञ्चालन गरिएको छ। बरालले कला, संस्कृति र संवादको स्थायी केन्द्र निर्माणमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउँदै अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेका छन्।
यो नाटक बास्केटबल कोर्ट भएका पोखराका विद्यालयमा मञ्चन गर्ने लक्ष्यका साथ तयार पारिएको हो । जसअनुसार आइतबार यो नाटक सैनिक आवासीय माविमा मञ्चन भएको थियो । सोमबार हंसध्वनी थिएटरमा मञ्चन गरिएको नाटक हेर्न धेरै दर्शक पुगेका थिए । उनीहरुले नाटक युनिटले गरेको मेहनत र नाटकले दिएको सन्देशको तारिफ गरेका छन् ।
यो नाटक एक महिनासम्म पोखराका विद्यालयमा मञ्चन गर्ने लक्ष्य राखिएको छ । नाटक मञ्चन कार्यक्रममा सहजिकरण एलिसा भोगले गरेकी थिइन् । सोमबारको कार्यक्रम मार्फत थिएटर निर्माण कार्य पुरा गर्न सहयोग गर्न नाट्यप्रेमीलाई आग्रह गरिएको थियो ।

















