पोखरा । नेकपा एमालेका सचिव खगराज अधिकारीले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र गणतन्त्रमाथि गम्भीर चुनौती देखिएको भन्दै पार्टीलाई आत्मसमीक्षासहित पुनः जनतासँग जोड्नुपर्ने बताएका छन्।

पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा नेकपा एमाले कास्कीले पोखरा–७ स्थित पुष्पलाल स्मृति पार्कमा आयोजना गरेको ‘पुष्पलाललाई पढौँ’ कार्यक्रममा बोल्दै उनले वर्तमान राजनीतिक अवस्थाले राष्ट्रिय एकताको आवश्यकता झन् बढाएको बताए।

अधिकारीले एमालेको दशौँ महाधिवेशनले नै दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकतालाई पार्टीका प्रमुख चुनौतीका रूपमा पहिचान गरेको स्मरण गराउँदै त्यसलाई व्यवहारमा प्रभावकारी रूपमा लागू गर्न नसक्दा पार्टीले शक्ति क्षय बेहोर्नुपरेको बताए।

उनले कास्की, चितवन, बुटवललगायतका क्षेत्रमा पार्टीको जनाधार कमजोर हुनुमा नेतृत्व र सङ्गठन दुवै जिम्मेवार रहेको स्वीकार गर्दै जनतासँगको सम्बन्ध कमजोर हुँदा त्यसको प्रतिफल अहिले देखिएको उल्लेख गरे।

‘पुष्पलालले भनेझैँ जनता र कार्यकर्ताको सम्बन्ध नङ र मासुजस्तै हुनुपर्छ। त्यो विचारलाई व्यवहारमा उतार्न नसक्दा हामीले अहिलेको अवस्था भोगिरहेका छौँ,’ उनले भने।

अधिकारीले पार्टीभित्र देखिने निराशा, कुण्ठा र असन्तुष्टिको मुख्य जिम्मेवारी नेतृत्वले लिनुपर्ने धारणा राख्दै आत्मसमीक्षाबाट मात्रै सङ्गठनलाई पुनर्जीवित गर्न सकिने बताए।

 गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका उनले नेपाली काङ्ग्रेसएमालेबीचमा वैचारिक भिन्नता रहे पनि देशको स्वाधीनता, लोकतन्त्र र गणतन्त्रको संरक्षणमा सबै जिम्मेवार राजनीतिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने अवस्था आएको बताए। बीपी कोइरालाले राष्ट्रिय हितका लागि लिएको राजनीतिक जोखिमको स्मरण गर्दै अहिलेको नेतृत्वले पनि देशको हितका लागि अझ ठूलो जिम्मेवारी वहन गर्नुपर्ने बताए।

पुष्पलाल श्रेष्ठप्रति सम्मान व्यक्त गर्दै अधिकारीले उनका सकारात्मक योगदानबाट प्रेरणा लिनुपर्ने र आवश्यक ठाउँमा आत्मसमीक्षा गर्दै पार्टी सङ्गठन निर्माणको महान् अभियानमा पुनः सक्रिय हुन कार्यकर्तालाई आग्रह गरे।

विकेन्द्रीकृत रूपमा स्मृति दिवस

कार्यक्रममा नेकपा एमाले कास्कीका अध्यक्ष बैनबहादुर क्षेत्री अधिकारीले यस वर्ष पुष्पलाल स्मृति दिवसलाई जिल्लाभर विकेन्द्रीकृत रूपमा विभिन्न पालिका र जनसंगठनमार्फत मनाइएको जानकारी दिए।

उनका अनुसार पोखरा महानगरपालिका कमिटीले पुष्पलाल अध्ययन केन्द्रमा परिचर्चा, रूपा गाउँपालिका कमिटीले प्रशिक्षण कार्यक्रम, मादी गाउँपालिका कमिटीले मिसन पार्टी जागरण अभियान तथा पुष्पलालको योगदानसम्बन्धी अन्तरक्रिया, माछापुच्छ्रे गाउँपालिका कमिटीले वृक्षरोपण कार्यक्रम आयोजना गरेका थिए।

त्यसैगरी राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु जिल्ला कमिटीले रक्तदान कार्यक्रम सञ्चालन गरेका थिए भने पुष्पलाल स्मृति पार्कमा आयोजित मुख्य कार्यक्रम वडा नं. ७ को पहल तथा आसपासका वडा कमिटीहरूको समन्वयमा सम्पन्न गरिएको उनले बताए।

अध्यक्ष अधिकारीले कार्यक्रममा सहभागी प्रत्येक व्यक्तिले एक–एक वाक्यमार्फत पुष्पलाल श्रेष्ठका विचार र योगदानबारे आफ्नो धारणा राख्ने अभ्यास गराइएको उल्लेख गर्दै अध्ययन संस्कृतिको विकास गर्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको बताए।

नेता–कार्यकर्ताको  सहभागिता

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा एमालेका केन्द्रीय, जिल्ला, पालिका तहका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

कार्यक्रममा पुष्पलाल श्रेष्ठले प्रतिपादन गरेका जनमुखी राजनीति, सङ्गठन निर्माण र समाजवादको मार्गलाई वर्तमान सन्दर्भमा थप प्रभावकारी रूपमा कार्यान्वयन गर्दै पार्टीलाई जनतामाझ अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। कार्यक्रम सञ्चालन कास्की सचिव दर्शन लामाले गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0