पोखरा । स्नो सञ्चार प्रोडक्सनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ट्यालेन्ट शो ‘स्नोज एम्बासडर कास्की’ आयोजना गर्ने भएको छ। संस्थाले पोखरामा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी दिएको छ

संस्थाका सिइओ सम्भव रावतका अनुसार उक्त कार्यक्रम केवल प्रतियोगितामा सीमित नभई कास्की जिल्लाभित्र रहेका प्रतिभावान् युवायुवतीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने उद्देश्यले आयोजना गरिएको हो। अन्तिम अडिसन शनिबार पोखरामा हुनेछ । यस अगाडि २ चरणको अडिसन सम्पन्न गरिएको भन्दै उनले अडिसनमा ३ सय जना सहभागी भएको खुलाए । तेस्रो चरणको अडिसन पश्चात तालिम लगायतका कार्य गरिने उनले खुलाएका छन् ।

प्रतियोगिताका जिल्ला विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ सहित थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्। साथै उत्कृष्ट १० प्रतियोगीले काठमाडौंमा हुने राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउनेछन्, जहाँ देशभरका विभिन्न जिल्लाबाट छनोट भएका प्रतिस्पर्धीसँग उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। कार्यक्रममा नृत्य, गायन, अभिनय, कला, वक्तृत्वकला, कविता वाचन तथा मोडलिङ लगायत विभिन्न विधामा प्रतिभा प्रदर्शन गर्न सकिने आयोजकले जनाएको छ। 

आयोजक संस्थाले कास्कीमा लुकेर रहेका बहुआयामिक प्रतिभाको पहिचान गरी उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउने लक्ष्य रहेको उल्लेख गरेको छ। साथै कास्कीका इच्छुक, प्रतिभाशाली तथा ऊर्जावान् युवायुवतीलाई प्रतियोगितामा सहभागी भई आफ्नो क्षमता प्रदर्शन गर्न आह्वान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0