पोखरा । लमजुङको क्होलासोथर गाउँपालिका ६ मा अवस्थित पर्यटकीय गाउँ पसगाउँमा हुने १६ औं संस्करणको पसगाउँ महोत्सवको तयारी तीव्र पारिएको छ। पसगाउँमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्यसहित महोत्सव आयोजना गर्न लागिएको हो । पसगाउँ सामुदायिक होमस्टेको आयोजना हुने महोत्सवमा स्थानीय कला, संस्कृतिको प्रवर्द्धन तथा स्थानीय उत्पादनको बिक्री वितरण गरिने आयोजकको भनाइ छ ।
पसगाउँ सामुदायिक होमस्टेका अध्यक्ष सूर्यप्रसाद गुरुङले मङ्गलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पसगाँउको विशेषता भनेको दक्षिण मोहडामा फर्किएका ढुङ्गाले छाएका घरहरू हुन् । गुरुङहरूको सम्पदा पदमार्गको गन्तव्य पसगाउँ बनिरहेको उनले बताए । घाटु, कृष्ण चरित्र, सारङ्गी सहित आमा समुह तथा युवा क्लबका नाँचहरूलाई महोत्सवमा स्थान दिइने बताइएको छ । पस गाउँको गरिबी न्यूनिकरण गर्न स्वरोजगार सिर्जना गर्न र पस गाउँलाई पर्यटनको माध्यमबाट थप प्रचार प्रसार गरी आय आर्जन गर्न महोत्सवको आयोजना गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।
चैत २५ र २६ गते गरी दुई दिनसम्म चल्ने महोत्सवमा क्होलासोथर गाउँपालिका भित्रका वडाको वडास्तरीय सामूहिक नृत्य मुख्य आकर्षणका रुपमा रहने अध्यक्ष गुरुङले बताए । गाउँपालिकाका पसगाउँ बाहेक भुजुङ, घलेगाउँ, गिलुङ लगायतका वडाबाट प्रतियोगितामा सहभागिता हुनेछ । सामूहिक नृत्य प्रतियोगिताको विजेता समूहले नगद रु ५० हजार, उपविजेता हुनेले नगद रु ३० हजार र सान्त्वना हुने समूहले नगद रु २० हजार प्राप्त गर्ने उनले खुलाए ।
उक्त गाउँमा २०६० देखि होमस्टे सुरु भएको पसगाउँमा रहेका होमस्टे विधिवत रुपमा २०७५ सालमा मात्रै दर्ता भएको थियो । पसगाउँ सामुदायिक होमस्टेमार्फत हाल २२ घरमा सामुदायिक होमस्टे सेवा सञ्चालनमा रहेको छ । करिब १ सय जना पाहुनाको क्षमता भएको सो होमस्टेमा १ हजार २ सयको प्याकेजमा खाने बस्ने व्यवस्था रहेको जनाइएको छ । १ सय ७५ बढी घरधुरी रहेको सो गाउँमा रैथाने परिकार र संस्कृतिको मज्जा लिनको लागि पुग्नुपर्ने अध्यक्ष गुरुङले बताए ।
प्राकृतिक रुपमा सुन्दर यसगाउँमा बेसिशहर, भुजुङ, मुग्रीवेसी, भोर्लेटार लगायतका ठाउँबाट पुग्न सकिन्छ । महोत्सवको आर्कषणको रुपमा छेलो प्रतियोगिता समेत रहेको छ । महोत्सवमा झण्डै १० लाखको खर्च हुने आयोजकको अनुमान छ । क्होलासोथर गाउँपालिकाका अध्यक्ष समेत रहेका होमस्टेका अध्यक्ष गुरुङले जनताको अपेक्षा धेरै भएपनि अधिकार र श्रोत साधनको अभावमा काम गर्न असहज भइरहेको बताए ।















