पोखरा । डा.अनिल सुवेदीका तीनवटा पुस्तक एकसाथ लोकार्पण गरिएको छ । लेखनाथ साहित्य प्रतिष्ठान नेपालको आयोजनामा पोखरामा सोमबार आयोजित एक कार्यक्रमका बीच उच्छलित मन कविता सङ्ग्रह, सेती खोंचका सुसेलीहरू कविता सङ्ग्रह र वास्तु र वनस्पति नामक अनुसन्धानमुलक कृति लोकार्पण गरिएको हो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सो कृतिहरू लोकार्पण गरिएको हो ।
डा. सुवेदीले आफ्नो पहिलो कृति उच्छलित मन कविता सङ्ग्रह विभिन्न समयमा बाँचेको जीवन र पुगेका ठाउँहरू, मान्छेहरूसँग भेटेको अनुभव सँगालेर तयार पारिएको बताए । यस्तै सेती खोंचका सुसेलीहरू प्रकृति र मानव जीवनबीचको सम्बन्धलाई देखाउन खोजिएको उनको भनाई छ । कृषि वैज्ञानिक समेत रहेका डा. सुवेदीले वनस्पति र वास्तुबीचको सम्बन्ध र यसबाट प्राप्त हुने उर्जाबारे जानकारी दिनका लागि वास्तु र वनस्पति कृति ल्याइएको बताए ।
कार्यक्रममा कविता कृतिको बारे प्रा डा जगन्नाथ रेग्मी, वास्तु र वनस्पति कृतिको बारेमा कल्याण पन्तले प्रकाश पारेका थिए । पन्तले वास्तु र वनस्पतिबीच अन्तरसम्बन्ध रहेको बताए । नेपाल वनजङ्गल प्रशस्त मात्रामा भएकाले पनि वास्तुको हिसाबले उत्तम रहेको उनले उल्लेख गरे ।
पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति समेत रहेका लेखनाथ साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष पदमराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बिम्बकवी प्राज्ञ रमेश श्रेष्ठ लगायतले बोलेका थिए । लेखनाथ साहित्य प्रतिष्ठानले प्रतिष्ठानका संस्थापक सहसचिव स्व.मदन भण्डारीको स्मृतिमा आयोजित कार्यक्रममा भण्डारीका बारेमा जरो टुप्पो संरक्षण साहित्य समाजका असफल गौतमले बोलेका थिए । प्रतिष्ठानका सदस्य ऋषिकेश बरालले स्वागत गरेको कार्यक्रमको सञ्चालन कृष्ण प्रसाद पौडेलले गरेका थिए ।















