पोखरा । कास्की  जिल्ला टेनिस सङ्घको अध्यक्षमा राजकुमार गुरुङ सर्वसम्मत चयन भएका छन् । सङ्घको पोखरामा सम्पन्न दशौँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनले उनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा नवीन चालिसे, द्वितीय उपाध्यक्षमा नवीन श्रेष्ठ, सचिवमा भीष्मराज पौडेल तथा कोषाध्यक्षमा विष्णुबहादुर थापा निर्विरोध चयन भए ।समितिको सदस्यहरूमा धरमबहादुर लामिछाने, प्रदीप खड्का, प्रकाशराज वाग्ले र माधव भण्डारी रहेका छन् ।

नवनिर्वाचित पदाधिकारीहरूलाई गण्डकी प्रदेशका पूर्वमन्त्री समेत रहेका सांसद राजिव गुरुङले खादामाला अबिर लगाई प्रमाणपत्र वितरण गरे । सो अवसरमा बोल्दै गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङले राजिव गुरुङ खेलकुद मन्त्री हुँदा उनको कार्यकालमा प्रदेशले खेल क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको दाबी गरे ।

गण्डकी प्रदेश टेनिस सङ्घका अध्यक्ष विनोद कायस्थले पोखरामा टेनिस खेलको सुरुवाती दिन स्मरण गर्दै खेलाडी तथा टेनिस प्रेमीहरूको एकता र सहकार्यलेनै टेनिस खेलले यति धेरै प्रगति गर्न सकेको बताए ।

कास्की जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष केशवबहादुर थापाले गतिविधिका दृष्टिकोणले टेनिस सङ्घ कास्कीको गतिशील सङ्घ भएको उल्लेख गरे । सङ्घका सल्लाहकार गोपीबहादुर भट्टराईले नवनिर्वाचित समितिलाई शुभकामना व्यक्त गर्दै यो समितिले टेनिस गतिविधिलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

अधिवक्ता विष्णुप्रसाद अधिकारीको संयोजकत्वमा दोर्जे लामा गोपी भट्टराई र केशव पाठक सदस्य रहेको निर्वाचन समितिले निर्वाचन प्रक्रिया सम्पन्न गरेको हो ।यसअघि समितिका निवर्तमान अध्यक्ष लोक गुरुङको अध्यक्षतामा भएको उद्‌घाटन समारोहमा बोल्दै अध्यक्ष गुरुङले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने विभिन्न सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरे । साथै उनले पोखरामा टेनिस विकासको गति अब नरोकिने दाबी गरे।

कोषाध्यक्ष अनुज कुमार बाँस्तोलाले आर्थिक प्रतिवेदन पेश गर्दै टेनिसका विभिन्न गतिविधिहरू सञ्चालन गर्नका लागि आर्थिक रुपमा सहयोग गर्ने सङ्घ संस्था तथा टेनिसका शुभचिन्तकहरूप्रति कृतज्ञता जाहेर गरे। सचिव नवीन श्रेष्ठले सञ्चालन तथा कार्यप्रतिवेदन पेश गरेको कार्यक्रममा उपाध्यक्ष नवीन चालिसेले स्वागत मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0