पोखरा । नेकपा एमाले कास्कीले ‘पार्टी समाहित एवं घर फर्क कार्यक्रम’ मार्फत नेकपा एकीकृत समाजवादीका डेढ सय भन्दा बढी नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरेको छ । उनीहरूलाई एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङ, स्थायी कमिटी सदस्य एवं एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारी, कास्की इन्चार्ज कृष्ण थापा लगायतका नेताले पार्टीमा स्वागत गरेका हुन् ।
यसरी पार्टी प्रवेश गर्नेमा एकीकृत समाजवादी गण्डकी प्रदेश सदस्य भरत बहादुर बस्नेत, जिल्ला कमिटी कास्की सदस्यहरू तुलसी दाहाल, उमा थापा, अन्नपूर्ण गाउँ कमिटी अध्यक्ष भरतप्रसाद देवकोटा, डिलाराम लामिछाने, कोपिला कार्की डिल्ली गौतम लगायत रहेको एमाले कास्कीले जनाएको छ । एकीकृत समाजवादीका अलावा माओवादी केन्द्र र रास्वपाका कार्यकर्ता समेत एमालेमा प्रवेश गरेको बताइएको छ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै एमाले गण्डकी इन्चार्ज गुरुङले एमालेमा फर्कनेलाई यथोचित व्यवस्थापन गरिने बताए । ‘कम्युनिस्ट आन्दोलन भनेको एउटा सरल रेखामा हिड्ने आन्दोलन होइन, उतार चढाव भइरहन्छ, फुटेको देखिन्छ, जुटेको देखिन्छ, नेपालको हकमा पनि यो देखिन्छ’ उनले भने । विचारको नाममा कम्युनिस्ट आन्दोलनलाई विभाजन गरेको कुरा गलत थियो भन्ने इतिहासले सावित गरेको दावी उनले गरे । पदीय महत्वकाङ्क्षाका कारण गुट बनाउने र गुटको पछि लाग्दा तल्लो स्तरका धेरै कार्यकर्ताले दुःख पाउने गरेको भन्दै यसलाई शिक्षाको रुपमा लिँदै त्यस्ता गतिविधि दोहोर्याउन नहुने बताए ।
पार्टी स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री अधिकारीले समय तथा परिस्थितिको कारण सबै कम्युनिस्ट विचार राख्ने पार्टीका नेता तथा कार्यकर्ता एमालेमा समाहित हुने अवस्था आएको बताए । यो अभियान निरन्तर जारी रहने भन्दै उनले २०८४ को निर्वाचन मार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने अभियानमा जुट्न सबै नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले गण्डकी प्रदेश सरकारमा मन्त्री पठाउँदा एकल निर्णय नगरी पार्टीकै उच्च निर्देशन अनुसार कार्य गरेको प्रष्ट पारे ।
एमाले कास्कीले पार्टीबाट मन्त्री भएकालाई बधाई तथा पार्टीको तेस्रो पूर्ण बैठक समेत सम्पन्न गरेको छ । कार्यक्रममा गण्डकी प्रदेश कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठ, उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश बहादुर केसीले प्रदेश सरकार मार्फत आफुले गरेका र गर्न लागेका कार्यहरूको बारेमा जानकारी गराएका थिए ।
एमाले कास्की अध्यक्ष वैन बहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले कास्की इन्चार्ज तथा केन्द्रीय सदस्य कृष्ण थापा, गण्डकी सचिव धनञ्जय दवाडी, कास्की उपाध्यक्ष भेषराज बराल, सचिव दर्शन लामा, पार्टी प्रवेश गरेका भरतबहादुर बस्नेत, उमा थापा लगायतले वर्तमान समयमा नेकपा एमालेले खेल्नुपर्ने भुमिका र मिसन ८४ लाई पूरा गर्न गर्नुपर्ने कामको बारेमा बोलेका थिए ।
‘पार्टी समाहित एवं घर फर्क कार्यक्रम’ निरन्तर अगाडि बढ्ने कास्की अध्यक्ष क्षेत्रीले खुलाए ।