पोखरा । महाशिवरात्रिको छेको पारेर कलाकार रोशन ज्ञवालीले ‘पज थिम’मा पर्फमेन्स आर्ट प्रस्तुत गरेका छन् । उनले फेवाताल किनारको चौरमा बसेर आर्ट प्रस्तुत गरेका हुन् । साँझको समयमा लगातार एकघण्टा ध्यानमा बसेर प्रस्तुती दिएका हुन् ।
यस्तो प्रस्तुती राख्दा दर्शक पनि सहभागी बन्न पाइन्छ । उनले प्रस्तुती राख्दा दर्शकले नौलो मानेरै हेरिरहेका थिए । उक्त ठाउँ वरपर पुगेका आन्तरिक तथा बाह्य पर्यटकले उनको प्रस्तुतीलाई ध्यानपूर्वक निकालेका थिए
भागदौड, काम र तनावको दुनियाँबाट विश्राम लिएर मेडिटेसन गर्ने उत्प्रेरित गर्ने मुख्य उद्देश्यले पर्फमेन्स आर्ट प्रस्तुत गरिएको कलाकार ज्ञवालीले बताए । उनले प्रस्तुती राख्दा वर्षा भइरहे पनि त्यसको कुनै प्रवाह गरेनन् । एक घण्टासम्म निरन्तर प्रस्तुती राखिरहेका थिए ।
कुनै मौखिक वा लिखित शब्दको प्रयोग नगरीकन साङ्केतिक रुपमा प्रस्तुती राख्दै ध्यानको महत्वबारे बुझाउन खोजिएको थियो । विभिन्न नाटकमा अभिनय गरिसकेका ज्ञवाली कला क्षेत्रमा अगाडि बढ्न निरन्तर क्रियाशील रहेका छन् ।
















