पोखरा । नेकपा एमालेका तर्फबाट कास्की १ का उम्मेदवार बनेका वैन बहादुर क्षेत्री अधिकारीलाई मत दिन आग्रह गरिएको गीत सार्वजनिक गरिएको छ । गीतमा जीवन दाहाल, तारापति सुवेदी, पार्वती जिसी र शिवहरी ढुङ्गानाले आवाज दिएका छन् । ‘सूर्यमा भोट हाल्न मन लाग्यो’ बोलको यो गीत प्रेम राज अधिकारीले रचना गरेका हुन् भने सङ्गीत जीवन दाहालले भरेका छन् । दिवस थापा मगरले एरेन्ज गरेको गीतको मिक्सिङ एण्ड मास्टरिङ मुर्चुङ्गा डिजिटल स्टुडियो काठमाण्डौमा गरिएको हो । गीत गोविन्द र दिवस थापाले रेकर्ड गरेका हुन् ।
गीत तारापति सुवेदी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। गीतमा उम्मेदवार क्षेत्रीलाई मत दिन आग्रह गर्दै उम्मेदवार अधिकारीले गरेका कामहरूको बारेमा उल्लेख गरिएको छ । जनताको साथमा निरन्तर रहेको कारण मात्र नभएर जिसस कास्कीको प्रमुख हुँदा गरेका कामहरूका कारण समेत मत दिनुपर्नेमा गीत मार्फत जोड दिइएको छ । संसद्मा जनताको आवाज पुर्याउन पनि उम्मेदवार क्षेत्रीलाई जिताउनुपर्ने गीतमा उल्लेख छ ।
वडा नम्बर २८ को व्यवस्थापनमा जनसांस्कृतिक कलाकारहरूद्वारा यो गीत तयार पारेर सार्वजनिक गरिएको एमाले वटा कमिटी २८ का सचिव ईश्वर अधिकारीले जानकारी दिए । गीत मार्फत क्षेत्री सहित सूर्य ध्वजाबाहक उम्मेदवारलाई जिताउन आग्रह गरिएको उनले खुलाए । उम्मेदवार क्षेत्री यतिबेला मतदाता भेटघाट र अन्तरक्रियात्मक कार्यक्रममा व्यस्त रहेका छन् । मतदाताको घर आँगनमा पुग्दा देखाएको अथाह माया तथा सद्भावका कारण सहज तरिकाले निर्वाचित हुने विश्वास उम्मेदवार क्षेत्रीले गरेका छन् ।
भिडियो
















