पोखरा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्वतका नेपाली काङ्ग्रेसका उम्मेदवारहरूले चुनावी अभियानलाई तीव्र बनाएका छन् । पर्वत स्थायी घर भई हाल विभिन्न पेशा–व्यवसायका क्रममा पोखरामा बसोबास गर्ने मतदातालाई लक्षित गर्दै प्रतिनिधिसभा उम्मेदवार अर्जुन प्रसाद जोशी र समानुपातिक उम्मेदवार जित बहादुर नेपाली मतदातासँग प्रत्यक्ष भेटघाटका लागि पोखरा आएका हुन् । नेपाली काङ्ग्रेस पर्वत–पोखरा सम्पर्क समितिको आयोजनामा सम्पन्न पेशा–व्यवसायी प्रतिनिधिहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उम्मेदवारहरूले आफ्ना एजेण्डा प्रस्तुत गर्दै समर्थन र भोटको अपिल गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार जोशीले नेपाली काङ्ग्रेस सच्चिएर आएको पार्टी भएको दाबी गर्दै जनताको चाहना र बदलिँदो समयको मागअनुसार पार्टीले अब युगको आवश्यकता अनुसार काम गर्ने बताए । उनले रूपान्तरित काङ्ग्रेस भ्रष्टाचार न्यूनीकरण, पारदर्शिता र सुशासनप्रति प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले भने, ‘असल कर्मले नै असल नेता र असल नेताले असल पार्टी बनाउँछ । हामी विगतबाट पाठ सिकेर असल कर्ममा निरन्तर लाग्ने छौँ । अरूलाई गाली गर्ने होइन, जनताप्रति जवाफदेही बन्ने बाटो हामीले रोजेका छौं ।’
त्यसैगरी समानुपातिक उम्मेदवार नेपालीले दलित, उत्पीडित र जनजाति समुदायको अधिकार सुनिश्चित गर्न काङ्ग्रेसले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । स्थानीय तहका प्रत्येक वडामा दलित प्रतिनिधित्वको कानुनी व्यवस्था काङ्ग्रेसकै पहलमा सम्भव भएको उनको दाबी थियो ।
समितिका अध्यक्ष डा. गणेश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सांसद रेखा गुरुङ, निर्वाचन परिचालन समितिका संयोजक खगेन्द्र तिवारी, अनुगमन समितिका संयोजक विश्व प्रसाई, नेपाली काङ्ग्रेस पार्टी पर्वतका उपसभापति शिव सुवेदी, समितिका उपाध्यक्ष लक्ष्मी मेधासीलगायत वक्ताहरूले लोकतन्त्र सुदृढ बनाउन काङ्ग्रेसलाई विजयी गराउनुपर्ने धारणा राखेका थिए ।
पोखरामा बसोबास गर्ने पर्वते मतदाताको उल्लेख्य उपस्थितिबीच सम्पन्न भएको कार्यक्रमले चुनावी माहोललाई थप तताएको सहभागीहरूले बताएका छन् । अन्तरक्रियामा नेता तथा कार्यकर्ताहरूले जनताको आकांक्षाअनुसार विकास, सुशासन र समावेशिताका एजेण्डा कार्यान्वयन गर्न काङ्ग्रेसलाई जिताउनुपर्नेमा जोड दिएका थिए ।
















