पोखरा । जावलाखेल युथ क्लब २५औँ आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगिताको आइतबार भएको दोस्रो क्वाटर फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै जावलाखेल सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको सुरुआतदेखि नै चर्च ब्वाइज माथि दबाब राखेको जावलाखेलले पहिलो गोल ४८ औँ मिनेटमा धर्मेन्द्र कुँवरमार्फत गरेको थियो । चर्च ब्वाइजका गोलरक्षक दीप कार्कीले डाइभ गर्दै बल समात्ने क्रममा हातबाट फुत्काएपछि धर्मेन्द्रले कुनै गल्ती नगरी अवसरको सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाए ।
दोस्रो गोल जमैकन खेलाडी निकोलस ह्यामिल्टनले ८८ औँ मिनेटमा गरे । उनले उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्दै गोलरक्षक दीप कार्कीलाई बीट गर्दै सुन्दर गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए ।
दोस्रो गोल भएको तीन मिनेटमै सुजन गुरुङले तेस्रो गोल थपे । गुरुङले डी–एरियाको नजिकैबाट प्रहार गरेको बलले सिधै जाली चुम्दा जावलाखेललाई ३–० को सहज जित हात पर्यो ।
उत्कृष्ट प्रदर्शन गरेका जावलाखेलका निकोलस ह्यामिल्टन प्लेयर अफ द म्याच घोषित भए । उनले नगद रु १० हजारसहित ट्रफी प्राप्त गरे । प्रतियोगिता अन्तरगत सोमबारको तेस्रो क्वार्टरफाइनल खेल मनाङ मर्स्याङदी क्लब र भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेडका बीच हुने आयोजक सहारा क्लब पोखराले जानकारी दिएको छ ।
फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले १४ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्ने छ । उपविजेताले ७ लाख १ हजार रुपैयाँ पाउनेछ । अनुशासित टोलीलाई २५ हजारसहित ट्रफी प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई नगद २५ हजार जनही प्रदान गरिनेछ ।
















