पोखरा । साहित्यकार कमल सुवेदीको उपन्यास ‘प्रेमपुञ्ज’ पोखरामा लोकार्पण गरिएको छ । नारी वाङ्गमय प्रतिष्ठानको आयोजनामा हिमालयन रिडर्स कर्नर पोखरामा एक भव्य कार्यक्रमको आयोजना गरेर कृति लोकार्पण गरिएको हो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सरुभक्त सहित प्रकाशक सूर्य बिसी, साहित्यकार सरस्वती प्रतिक्षा, लेखक कमल सुवेदी र नारी वाङ्गमय प्रतिष्ठानका अध्यक्ष छन्दीका त्रिपाठीले संयुक्त रुपमा लोकार्पण गरे ।
लोकार्पण कार्यक्रममा बोल्दै प्रमुख अतिथि सरुभक्तले लेखक सुवेदीको साहित्य यात्राको सफलताको शुभकामना दिए । प्रेमपुञ्ज उपन्यास पाठकको रोजाइमा पर्ने विश्वास उनको थियो । उपन्यास माथि समीक्षा गर्दै साहित्यकार छन्दमणि त्रिपाठीले पोखराको परिवेशमा उपन्यास तयार पारिएको उल्लेख गरे । मुख्य दुई पात्र प्रकाश अधिकारी र सुप्रिया विश्वकर्माका विभिन्न उतारचढावलाई उपन्यास मार्फत पस्कन खोजिएको उनले खुलाए। उनीहरूको प्रेम प्रसङ्गबाट अगाडि बढेको कथाले पाठकलाई उत्सुकता जगाउने र छन्दलाई समेत ध्यान दिएको कारण उपन्यास सुन्दर बनेको उनले बताए ।
उपन्यासलाई बिएन पुस्तक संसारले प्रकाशन गरेको हो । उपन्यासबाट सबैको साथ पाउने लेखक सुवेदीको विश्वास छ । कास्कीको मादी गाउँपालिका सुवेदीले उपन्यास प्रेमपुञ्ज सहित आफ्नो साहित्य यात्राका बारेमा बोलेका थिए । नारी वाङ्गमय प्रतिष्ठानका अध्यक्ष छन्दीका त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष अम्बिका भण्डारी र सञ्चालन चन्द्रावती वाग्लेले गरेकी थिइन् । कार्यक्रममा कवि शिव त्रिपाठीले आफ्नो रचना समेत सुनाए ।
















