पोखरा । राष्ट्रिय युवा नीति २०८२ र आगामी युथ भिजनका लागि प्रादेशिक कार्यशाला सोमबार पोखरामा सम्पन्न भएको छ । जागृति बाल तथा युवा सरोकार नेपालले ब्रिटिस काउन्सिलको सहयोग र राष्ट्रिय युवा परिषद्को सहकार्यमा सम्पन्न कार्यशालाका सहभागीहरूले युवा सहभागिता अभिवृद्धि गर्नुपर्ने जोड दिए । त्यसै गरी युवा मैत्री शासन अभिवृद्धिका लागि नेपालका अन्य प्रदेशहरूमा जस्तै गण्डकी प्रदेशमा समेत प्रदेश युवा परिषद् बनाउन युवा सरोकारवालाले जोड दिएका छन् ।
कार्यक्रम बोल्दै मानव अधिकार आयोग, गण्डकी प्रदेश प्रमुख नितु गर्ताैलाले युवाहरूमा नैतिकता र सक्रियताको खाँचो औँल्याइन् । त्यसै गरी गण्डकी प्रदेश, सामाजिक तथा युवा तथा खेलकुद मन्त्रालयका उपसचिव घनश्याम पौडेलले गण्डकी प्रदेश युवा परिषद् गठनको प्रस्ताव मन्त्रिपरिषद्मा गइसकेको र छिटै गठन हुने प्रतिवद्धता व्यक्त गरे। कार्यक्रममा बोल्दै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, गण्डकी प्रदेश कार्यालयकी उप निर्देशक डा. मीना भट्टले युवाहरूलाई सीप र उद्यमशीलतासँग जोड्न सके मात्र समृद्धिको यात्रा शुरु गर्ने सकिने धारणा राखिन् ।
त्यस्तै श्रम तथा रोजगार कार्यालय, पोखराका प्रमुख चण्डीका पौडेलले श्रम सचेतना र सामाजिक सुरक्षा कोषको महत्वमाथि प्रकाश पारे । आँधिखोला गाउँपालिका, वडा नं. १ का वडा अध्यक्ष पवनकाजी अधिकारीले युवाहरूलाई उद्यमी बनाउने अभियानका लागि सबै तहका सरकारहरूको एकीकृत समन्वयको आवश्यकतामा जोड दिए ।
कार्यक्रमको छलफल सत्रको सहजिकरण त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक डा. दिपेश घिमिरेले गर्दै राष्ट्रिय युवा नीति २०८२ को परिचय, युथ भिजन २०२५ को समीक्षा तथा आगामी युथ भिजनको सन्दर्भमा सहभागीहरूको सुझाव सङ्कलन गरेका थिए।
कार्यक्रममा युवा जनप्रतिनिधिहरू, विद्यार्थी, व्यवसायी, सञ्चारकर्मी, अल्पसङ्ख्यक समुदाय, पर्यटन व्यवसायी, फरक क्षमता, यौनिक तथा लैङ्गिक अल्पङ्ख्यक, किशोर किशोरी लगायतको समुदायको प्रतिनिधित्व गर्दै गण्डकी प्रदेशको विभिन्न जिल्लाका विभिन्न ७ जिल्लाका ७० युवाहरूको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीहरूले युवा मैत्री शासन प्रवर्द्धन, जलवायु मैत्री शासन, बाल विवाह अन्त्य, उद्यमशीलता विकास, सामाजिक कुरीति तथा कुसंस्कार विरुद्ध अभियान, बाल विवाह अन्त्य, विपद् व्यवस्थापन लगायतका कुरामा युवाहरूको सक्रियता र सहभागिताको बारेमा सुझाव दिएका थिए ।
कार्यक्रम राष्ट्रिय युवा परिषद्को उपसचिव चन्द्रा कुमारी थापाको अध्यक्षता, जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलको सञ्चालन तथा कार्यक्रम अधिकृत रिता थापाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
















