पोखरा । छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबमाथि सहज जित निकालेको छ ।

पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको चौथो तथा अन्तिम खेलमा पुरुषतर्फ गण्डकीले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । गण्डकीले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पार्‍यो ।यसअघि आजै भएको खेलमा पुरुषतर्फ पर्वत जिल्ला भलिबल सङ्घले माल्दिभ्स भलिबल एशोसियसनलाई ३–० को सोझो सेटले पराजित गरेको थियो । पर्वतले पहिलो सेट २५–१७, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१६ ले जित निकालेको थियो ।

यसअघिका महिलातर्फका खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लब र थाइल्याण्ड क्विन्सले जित निकालेका थिए । न्यु डायमन्डले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । यस्तै थाइल्याण्डले आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलको सम्भावना जीवित राखेको छ । थाइल्याण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२१ र तेस्रा सेट २५–१६ ले सहज जित निकालेको हो ।

च्याम्पियनसिपअन्तर्गत भोलि बुधबार ४ खेल हुनेछन् । पहिलो खेल महिलातर्फ एपीएफ र पुलिसबिच हुनेछ । उक्त खेल बिहान साढे ८ बजेबाट सुरु हुनेछ । त्यसपछि महिलातर्फ नै न्यू डायमण्ड र थाइल्याण्ड क्विन्स भिड्नेछन् ।

भोलिको तेस्रो खेल पुरुषतर्फ पुलिस र एपीएफबिच हुनेछ । त्यसपछि भोलिको अन्तिम खेल पर्वत जिल्ला भलिबल संघ र आर्मीबीच हुने तालिका छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिङ्गल राउन्ड रोबिनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् । महिलातर्फको फाइनल खेल माघ १६ गते र पुरुषतर्फको फाइनल खेल माघ १७ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0