पोखरा। पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पदका उम्मेदवार गोकर्ण कार्कीले देशमा अहिले व्यापार-व्यवसाय गर्ने अवस्था नभएको बताएका छन् । अधिकांश युवा विदेशिने र स्वदेशमै केही गरौँ भन्ने युवा समेत बैङ्क र वित्तीय क्षेत्रमा आएको समस्याका कारण व्यवसाय छाडेर जानुपर्ने स्थिति आएको र यसको अन्त्य गर्नु अत्यावश्यक रहेको बताएका छन् ।

‘बैङ्क, वित्तीय क्षेत्रका समस्याहरूको उचित निकासको लागि नियामक निकायहरूसँग प्रतिफल आउने गरी काम गर्छु’ कार्कीले भने, ‘हिजो बैङ्कको चर्को ब्याजदरका कारण आम उद्योगी, व्यापारी, व्यवसायीले निकै कष्ट भोग्नुपरेको छ । मेरै नेतृत्वमा बैङ्क ब्याजदरको विरुद्धमा विभिन्न ध्यानाकर्षण गर्ने काम भयो अब नेतृत्वमा बसेर अझ सशक्त हुने चाहना छ ।’

पोखरा उद्योग वाणिज्य सङ्घको ३५ औं महाधिवेशन निर्वाचन समितिको आयोजनामा भएको उम्मेदवार परिचय कार्यक्रममा बोल्दै अध्यक्ष पदका उम्मेदवार कार्कीले सो कुरा बताउँदै आफूले उम्मेदवारी दिएपछि डेङ्गी लागेको र आराम गर्ने स्थितिमा रहेपनि जिम्मेवारी छाड्न नसकेर मैदानमा होमिएको बताए ।

देशमा भएका ठूला राजनैतिक घटनाक्रममा समेत सङ्घ विचलित नभई आफ्नो उद्देश्यमा अडिग रहेको सुनाउँदै उनले सङ्घ उद्योगी र व्यवसायी हितका लागि मात्रै नभइ सामाजिक सेवामा समेत हरेक क्षण तल्लिन भएको स्पष्ट पारे । बरिष्ठ उपाध्यक्ष समेत रहेका कार्कीले २०५५ सालमा पोखरा उद्योग वाणिज्य सङ्घमा साधारण सदस्यको रुपमा प्रवेश गरेर कार्यसमितिमा उद्योग उपाध्यक्षमा दुई कार्यकाल बिताउँदै हाल वरिष्ठ उपाध्यक्षको भूमिका निर्वाह गर्दै गर्दा आम उद्योग, व्यवसायीहरूको विश्वास र साथले नै सफल भएको बताए ।

विभिन्न सङ्घ संस्थामा रहँदाको अनुभव र देश विदेशको भ्रमणबाट सिकेका कुरालाई नेतृत्व तहमा बसेर आम पोखराको उद्योग, व्यवसायी सँगै आर्थिक चलायमान बनाउने ध्येय आफ्नो रहेको उनी सुनाउँछन् । ‘उद्योगीहरूको रक्षा, हकहित र सुख दुखमा साथ अनि औद्योगिक र व्यवसायीहरूको उत्थानका साथै सहज र शान्तिपूर्ण व्यवसाय गर्न सक्ने वातावरण बनाउनुनै मेरो लक्ष्य रहेको छ’ उनले भने, ‘कुनैपनि तहबाट राज्यको कानुनमा रहेर उद्योग–व्यवसायिहरूलाई यो वा त्यो बहानामा हतोत्साहित बनाइनु हुँदैन भन्नेमा म सचेत छु ।’

सङ्घमा अबको पालो आफ्नै भएकाले पनि अध्यक्षमा उम्मेदवारी दिएको उनले सुनाए । २०११ सालमा स्थापित सङ्घ उद्योगी र व्यवसायीको आस्थाको धरोहर मात्र नभई पोखराको समृद्धिको संवाहक रहेको उनको भनाइ छ । सङ्घको वर्तमान प्रतिष्ठा, स्वरुप र क्रियाशिलताका लागि अग्रजहरुले गरेको आर्थिक नैतिक र भावानात्मक रुपले पुर्‍याएको ठुलो योगदानको चर्चा गर्दै संस्थागत असल कार्यलाई निरन्तरता दिदैँ शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, औद्योगिकरण र उत्पादनलाई प्रवर्द्धन गर्दै बजार व्यवस्थापन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0