पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको ३५ औं महाधिवेशनको सरगर्मी बढ्दो छ । भदौ २८ र २९ गते हुने महाधिवेशनका लागि अर्जुन पोखरेल प्यानलबाट सौगात थापाले पनि कार्यसमिति सदस्य पदमा आफ्नो उम्मेदवारी दिएका छन् । क्र.सं.१४ का साथमा चुनावी मैदानमा होमिएका थापा कान्छा उम्मेदवार हुन् । चुनावका बेला अक्सर युवाको विषय नारामा मात्रै सीमित हुन्छन् । थापा भने यसपालि ‘नारामा युवा पटकपटक नेतृत्वमा युवा यस पटक’ भन्दै मत मागिरहेका छन् ।
शनिबार पोउवा सङ्घमा भएको उम्मेद्वार परिचय कार्यक्रममा बोल्दै सौगातले उद्योग वाणिज्य सङ्घको छविलाई उचाल्न युवा नेतृत्वको आवश्यकता रहेको उल्लेख गरे । युवा व्यवसायीका समस्यालाई सम्बोधन गर्न आफ्नो उम्मेदवारी रहेको भनाई उनको छ । यसअघि पवन प्रजापतिको नेतृत्वमा रहेको कार्यसमिति टिममा रहि अनुभव लिएका थापाले व्यवसायमा आफ्नो उर्जा र समय खर्च गर्दै जाँदा व्यवसायीहरूका कयौँ समस्या र नीतिगत रुपमा भएका अप्ठ्याराहरू नजिकबाट महसुस गरेको बताए ।
उनले बुवा बिन्दुकुमार थापाको पथलाई पछ्याउँदै उद्योग वाणिज्य सङ्घमा आवद्ध भई व्यवसायीको पिरमर्कालाई सम्बोधन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन । बुवाले सेवा गरेको संस्था आफ्ना लागि मन्दिर जस्तो पवित्र भएको उल्लेख गर्दै सेवामा समर्पित हुने उनले बताए ।
बुवाको राजनीतिमा सक्रियता बढ्दै गएपछि सम्पूर्ण व्यवसायको जिम्मेवारी सम्हाल्दै आएका सौगात टिममा विश्वास गर्छन् । त्यसैले त अहिले उनले पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा अर्जुन पोखरेल नेतृत्वको प्यानलबाट कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका छन ।
भन्छन्, “सोचेको ठुलो काम गर्नुछ भने त्यो समुहमा मात्रै सम्भव छ । त्यसैले अहिले म होइन मेरो टिमको विश्वासमा यहाँहरूका अगाडि उभिएको छु । अध्यक्षका रुपमा प्रत्यासी रहनुभएका दाइ अर्जुन पोखरेलको टिमबाट यो निर्वाचनमा हामी उद्योगी व्यवसायीका घरदैलो र मनसम्म पुगेका छौँ । अर्जुन पोखरेलको टिम कुनै गुटगत टिम होइन बरु ऊर्जाले भरिएका विभिन्न उमेर समुह र अनुभवका अनेक खुड्किलो पार गरेका व्यक्तिहरूको साझा टिम हो । हाम्रो शक्ति भन्नु नै तपाईँहरू हुनुहुन्छ र हाम्रो एकता छ ।“
आफू र आफ्नो टीम सँग स्पष्ट खाका र उद्योगी व्यवसायीलाई परेको व्यथाको यथार्थ ज्ञान भएको उनले बताए । सङ्घलाई अगाडि बढाउन योजना र सपना भएकाले पोखरेल प्यानललाई नै मत दिन व्यवसायीलाई उनको आग्रह छ ।
व्यक्तिका रुपमा कसले चुनाव जित्छ त्यो महत्त्वपूर्ण नभई कुन टिमले के गर्न सक्छ त्यो महत्वपूर्ण भएको भनाई उनको छ । व्यवसायीहरूको सल्लाह र सुझाव बमोजिम हकहित र पैरवीमा लाग्ने विषयमा आफू सचेत भएको समेत उनले उल्लेख गरेका छन् ।