पोखरा। टाइगर ग्रुप अफ पोखरा, नेपालको आयोजनामा एनसेल छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२ माघ ९ देखि १७ गतेसम्म पोखरा रङ्गशालामा आयोजना हुने भएको छ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ।

पोखरा क्षेत्रमा विभिन्न पेशा–व्यवसायमा सफलता हासिल गरेका युवाहरूको साझा प्रयासमा स्थापित टाइगर ग्रुप अफ पोखरा नेपालले समाजसेवाको भावनासहित प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ । नेपाल भलिबल सङ्घको स्वीकृति तथा गण्डकी प्रदेश भलिबल सङ्घको संयोजनमा हुने प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्लबहरूको सहभागिता रहनेछ।

प्रतियोगितामा महिला तर्फ ५ र पुरुष तर्फ ६ गरी ११ टिम सहभागी हुनेछन्। महिला तर्फ विदेशी टिम थाइल्याण्डको थाइल्याण्ड क्विन्स थाइल्याण्ड रहनेछ। नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, टिप टप न्यू डायमण्ड स्पोर्ट्स क्लब रहनेछन् । पुरुष तर्फ नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, पर्वत जिल्ला भलिबल सङ्घ, पर्वत र माल्दिभ्स टिम सहभागी हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा विजेता महिला/पुरुष टिमलाई समान पुरस्कार राशि प्रदान गरिनेछ। पुरस्कारतर्फ प्रथम हुने टिमले रु. ६ लाख ६६ हजार ६६६, द्वितीयले रु. ३ लाख ६६ हजार ६६६ र तृतीय हुने टिमले रु. २ लाख ६ हजार ६६६ प्राप्त गर्नेछन्। साथै सर्वोत्कृष्ट खेलाडीलाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगिता सञ्चालनका लागि करिब १ करोड ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिताबाट बचत भएको रकम स्वास्थ्य, शिक्षा, खेलकुद तथा सामाजिक क्षेत्रमा खर्च गरिने आयोजकको योजना छ। दर्शकको सहजताका लागि अनलाइन टिकटिङको व्यवस्था गरिएको छ भने टिकट दर रु. ३०० तोकिएको छ। टिकट वितरण IME को सहकार्यमा हुने जनाइएको छ।

प्रतियोगिताको सह–प्रायोजकमा वात्साल्य  र धारा शुद्ध तोरी तेल रहेका छन् भने प्रमुख प्रायोजकका रूपमा एनसेल रहेको छ। प्रतियोगितालाई सफल बनाउन विभिन्न सरकारी निकाय, निजी क्षेत्र, खेलकुद संघ–संस्था, अस्पताल, बैंक, बीमा कम्पनी, होटल, पर्यटन क्षेत्र, सञ्चार माध्यम र व्यवसायिक प्रतिष्ठानहरूको सहयोग रहेको आयोजकले जनाएको छ।

सुरक्षाका लागि वडा प्रहरी कार्यालय रामबजारका प्रहरी र स्वयंसेवक परिचालन गरिनेछ। साथै प्रतियोगिता स्थलमा डिजिटल बोर्ड, एलईडी स्क्रिन, लाइभ टेलिकास्ट र मिडिया व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको छ।

टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा १०७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। प्रतियोगिता संयोजकमा राजकुमार गुरुङ र सह–संयोजकमा डोलराज पोखरेल रहेका छन्।

आयोजकले प्रतियोगितालाई भव्य, मर्यादित र प्रभावकारी बनाउन सम्पूर्ण सहयोगी हातहरूप्रति आभार व्यक्त गर्दै खेलप्रेमी दर्शक, सञ्चारकर्मी र सरोकारवालालाई प्रतियोगितामा उपस्थित भई खेलको उत्सव सफल बनाउन आग्रह गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0