पोखरा । पोखरामा छैटौँ संस्करणको ‘पोखरा विद्यालय नाटक महोत्सव २०८२’ हुने भएको छ । पोखरा थिएटरको आयोजनामा यहीँ माघ १० गतेबाट गन्धर्व नाटकघरमा सुरु हुने नाटक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको थिएटरका संस्थापक अध्यक्ष तथा महोत्सव संयोजक परिवर्तनले जानकारी दिए ।
माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न विद्यालयले तयार पारेका नाटक मञ्चन हुनेछन् । यसरी मञ्चन हुने नाटकमा कास्की मोडर्नाइज्ड एकेडेमी चाउथेको यमद्वार, छोरेपाटन मावि छोरेपाटनको पार्वती, माउन्ट अन्नपूर्ण मावि नदीपुरको फेरि त्यो फर्कला रहेका छन् ।
भानुभक्त आवासीय मावि सिमपानीको रोल नं.४, एसओएस हर्मन माइनर स्कुल गण्डकीको किताब भित्र किताब बाहिर, सोसल पब्लिक स्कुल रामबजारको किनारा विहीन किनारा र प्रगति माध्यामिक विद्यालयको भात नाटक समेत महोत्सवमा मञ्चन हुनेछ ।
यसका अलावा महोत्सवमा कक्षामा मञ्च, पढाइको पासवर्ड के हो, द पावर बिहाइन्ड द स्कुल गरी तीनवटा संवाद कार्यक्रम सञ्चालन हुनेछ । यसैगरी अभिनय प्रतियोगिता, टिचर अनप्लग्ड लगायत समेत महोत्सवको आकर्षणको रुपमा रहेको छ । माघ १० गते बिहान ११ बजे उद्घाटन हुने महोत्सव माघ १९ गते दिउँसो साढे २ बजे समापन हुनेछ । ‘नाटकबाट शिक्षा, सिकाइमा नवीनता’ नाराका साथ आयोजना गरिएको महोत्सवलाई विगतमा भन्दा थप विशेष र परिष्कृत बनाउन खोजिएको अध्यक्ष परिवर्तनको भनाइ छ ।
















