पोखरा । पोखरामा जलपक्षीको सङ्ख्या घट्दै गएको पाइएको छ । पोखरा पक्षी समाज र टाइगर माउन्टेन पोखरा लजको संयुक्त आयोजनामा भएको पक्षी गणनाबाट चराको सङ्ख्यामा गिरावट पाइएको गणनामा सहभागीहरूले बताएका छन् ।
कास्कीका तालतलैया, सिमसार क्षेत्रहरूमा भएको अतिक्रमण र प्रदूषणका कारण चराको सङ्ख्यामा गिरावट आएको पोखरा पक्षी समाजका अध्यक्ष एवं हिउँदे आगन्तुक पानीचरा गणनाका क्षेत्रीय संयोजक मनशान्त घिमिरेले जानकारी दिए । जनवरी तीनदेखि पोखराको फेवाताल, खास्टे, न्युरेनी, वेगनास ताल, विजयपुर खोला करिडोर, हर्पन खोलालगायत सिमसार क्षेत्रमा गरिएको गणनामा आगन्तुक चराको सङ्ख्या घटेको पाइएको उनले जानकारी दिए ।
गणनाका क्षेत्रीय संयोजक झलक चौधरीका अनुसार चराको वासस्थान क्षेत्रमा मानवीय अतिक्रमण, कङ्क्रिट पूर्वाधार निर्माण, विष राखेर माछा मार्ने र प्रदूषणका कारण चराको सङ्ख्यामा कमी आएको हो । पोखराको फेवाताल, कमलपोखरी, खास्टे लगायत ताल एवं सिमसार क्षेत्रमा दलदल कम हुँदै जानाले आगन्तुक चराको प्रजातिमा भन्दा सङ्ख्यामा कमी आएको उनको भनाई छ ।

संयोजक चौधरीका अनुसार पोखरा सन् २००४ देखि चरा गणना हुँदै आएको छ । पोखराका खोला र ताल किनारमा पिकनिक आयोजना बढ्दै जानु र सडक निर्माण लगायत मानवीय अतिक्रमण लगायतका कारण चराको सङ्ख्या घट्दै गएको बताए ।
चरा गणनामा संलग्न चरा विज्ञ शेष कान्त शर्माले ताल संरक्षण र सौन्दर्यका लागि निर्माण गरिने पूर्वाधारका कारण पानीको सतह बढ्दै गएपनि चराको वासस्थान सङ्कटमा पर्दै गएको बताए । सबै क्षेत्रमा मानिसको पहुँच पुग्नुले चराको वासस्थानमा प्रभाव पर्न गएको उनले उल्लेख गरे । चराको सङ्ख्या घट्न नदिन सिमसार क्षेत्र संरक्षणमा ध्यान दिनुपर्ने आवश्यकता उनले औँल्याए ।

पोखरामा टाइगर माउन्टेन पोखरा लजको अगुवाईमा सन् २००४ देखि गरिदै आएको जलपन्छी गणना कार्यक्रममा सन् २००७ वाट चरामा रुचि राख्ने केही पथ प्रदर्शकहरू एवं विद्यार्थीहरूको केही समुह जोडिएका थिए । सन् २०१७ मा आधिकारिक रुपमा पोखरा पन्छी समाजले यस कार्यक्रममा समन्वय गरि टाइगर माउन्टेन पोखरा लज सँगै गणनामा सहभागी भइरहेको छ ।
















