पोखरा । नाटक ‘मखी ताल’ पोखराका ३३ वटै वडामा मञ्चन हुने भएको छ । कोरियन अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका), संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) नेपालको सहयोग तथा पोखरा महानगरपालिकाको सहकार्यमा सञ्चालित ‘रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना (जिसिआरयू) परियोजना’ अन्तर्गत नाटक तयार भएको हो ।
पोखरा थिएटरको आयोजनामा हुने मञ्चनको उदेश्य वातावरण संरक्षण, फोहर व्यवस्थापन, सर्कुलर इकोनोमी र स्वच्छ जीवनशैली सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने रहेको थिएटरका संस्थापक अध्यक्ष परिवर्तनले जनाए । ‘यो सचेतनामूलक नाटक पोखरा महानगरपालिकाका ३३ वटै वडामा मञ्चन गर्ने योजना रहेको छ’ उनले भने ।

यो नाटक हास्य–व्यङ्ग्य तथा व्यावहारिक सन्देशमार्फत स्थानीय समुदायलाई छिटो जोड्ने शैलीमा तयार गरिएको परिवर्तनले खुलाएका छन् । नाटकको प्रस्तुति पोखरा थिएटरको रहेको छ भने लेखनतथा निर्देशन परिवर्तनको हो । नाटकमा परिवर्तन सहित रमेशबाबु तिमल्सिना, धनकाजी श्रेष्ठ, उत्सर्ग सुवेदी, रञ्जु दाहाल, सुसन पौडेल, उमा पुन, श्रद्धा आचार्य, श्रीकृष्ण भण्डारीको अभिनय रहनेछ ।
प्रप्स तथा कस्टुम परिकल्पना, निर्माण विकास अधिकारीले गरेका हुन् भने नाटक मञ्चनलाई प्रभाबकारी बनाउन कार्यक्रम संयोजकको जिम्मेवारी प्रकाश रेग्मी हमालले पाएका छन् । पोस्टर डिजाइन भानुभक्त सापकोटाले गरेका छन् । नाटकका फोटो, भिडियो प्रथम श्रेष्ठ खिच्नेछन भने अभिलेखको जिम्मा अस्मिता गोदार र स्वयंसेवकको जिम्मा बिनिता बयलकोटीले सम्हाल्ने छन् ।

पौष २० गतेबाट मञ्चन सुरु हुने नाटक पहिलो दिन पोखरा महानगरपालिका वडा नं.३०, ३१ र ३२ मा मञ्चन हुनेछ । ४० मिनेटको यश नाटकबाट दर्शकले मनोरञ्जन मात्र नभएर ‘रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना (जिसिआरयू) परियोजना’ बारे बुझ्न पाउनेछन् ।
पोखरा महानगरपसलिकाको महत्त्वपूर्ण पोजेक्टको रुपमा यो परियोजना अन्तरगत यतिबेला पोखरा ९ नयाँ बजार पोखरा प्रदर्शनी केन्द्रमा कोसेली घर निर्माण भइरहेको छ । नाटक मञ्चनको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।
















