पोखरा । चलचित्र ‘वसन्त’को छायाङ्कन शनिबारबाट हुने भएको छ । प्रकाश सपूतको कथा, सङ्गीत निर्देशन रहने चलचित्रको शुभमूर्हत शनिबार बागलुङको कालिका भगवती मन्दिरमा भएपछि छायाङ्कन सुरु हुने बताइएको छ ।
गलबन्दी प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्र चैते दशैँको अवसर पारेर आगामी चैत्र २२ गते प्रदर्शन गरिनेछ । सुनिल विकको मुख्य सहायक निर्देशन रहने चलचित्रको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई, नाना थकाली रहेका छन् । चलचित्रमा प्रकाश सपूत, स्वस्तिमा खड्का, अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाल, प्रभात पाल ठकुरी, खड्क बहादुर पुन (खबपु), शिभान्सी श्री लगायतको अभिनय रहनेछ ।
चलचित्र छायाँङ्कनको लागि निर्माण युनिट बागलुङतर्फ लागेको सपूतले फेसबुक मार्फत जनाएका छन् । उनले जीवनका न्यूनतम सिद्धान्तहरू प्रेम, शान्ति, सपना र सत्यलाई वसन्तले बुन्ने बताएका छन् ।
उनी लेख्छन्- ‘म जन्मदै समाजमा तहहरू थियो । सबैभन्दा माथिल्लो तहमा शान्ति शर्माहरू, त्यसपछि प्रेम आर क्षेत्रीहरू अनि बिचमा सत्य बहादुर मगरहरू र सबैभन्दा तल पिधमा वसन्त बिक, सपना बिकहरु ! र पनि हामी बच्यौँ, उही दु:खसुख, उही उकाली ओराली, उही मेलापात, उही स्कुल घर, उही जन्ती मलामी, उही बैँस उमेर, उही गीत नाच , उही युद्ध आन्दोलन ! लगभग सबै उस्तै परिस्थितिमा, उस्तै गरि बाँच्यौ । समाज प्रेमील थियो, गुणी थियो । तर एउटा विभेदको पर्खाल ले हामीलाई अलग राखिरह्यो । एउटा गहिरो अपमान बोध गराइरह्यो । हामी एउटै समाज मा भए पनि एउटै रेखामा हुन पाएनौ । तर यो पर्खालले वसन्त बिकहरूलाई मात्रै होइन शान्ति शर्माहरूलाई पनि अप्ठ्यारो बनाइरह्यो । सपना बिकहरूलाई मात्रै होइन प्रेम आर क्षेत्रीहरूलाई पनि प्रेम गर्न छेकिरह्यो । चलचित्र बसन्त ले यिनै अफ्ठेराहरू भन्ने छ । हाम्रो समाजको यिनै गुण अवगुणलाई सिनेम्याटिक अनुभव सहित देखाउने छ ! जीवनका न्यूनतम सिद्धान्तहरू प्रेम, शान्ति, सपना र सत्यलाई वसन्तले बुन्ने छ।’
सपूतले यसपालि भारी अलि ठूलो भएकोले सजिलो नभएको जनाएका छन् । ‘यसपालि भारी अलि ठुलो छ ! ल राम्रै आइपुग्नु भनेर शुभकामना , शुभआशिष दिनुस् न है ! भेटम्ला, कोसेली फुकाम्ला, गुन तिरम्ला ! के छ र जिन्दगी’ उनले भनेका छन् । गायन क्षेत्रबाट उदाएका सपूतको चलचित्र क्षेत्रको यात्रा परदेशी २ बाट सुरु भएको हो ।
