पोखरा । डान्स रियालिटि सो, मेरो डान्स युनिभर्सको सामूहिक लोक नृत्य प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गर्न सफल तरेली सांस्कृतिक परिवारका कलाकारहरूलाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको छ । तरेली सांस्कृतिक परिवारले शनिबार पोखरा रामबजारको भवरकोट पार्टी प्यालेसमा एक भव्य कार्यक्रम आयोजना गरेर कलाकारहरूलाई सम्मान गरेको हो । मेरो डान्स युनिभर्समा तरेली सांस्कृतिक परिवारका ३५ जना कलाकार सहभागी भएको कौराह नृत्य टिमले सान्त्वना हुँदै नगद ३ लाख पुरस्कार प्राप्त गर्न सफल भएको थियो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवं संस्थाका सल्लाहकार गोरे गुरुङले विषयवस्तुमा केन्द्रित रहेर गरेको कार्यक्रमहरू फलदायी हुने बताए । मेरो डान्स युनिभर्समा सहभागी भई सान्त्वना जित निकाल्न सक्नु चानचुने कुरा नभएको बताउँदै लोक नृत्य र गीत सङ्गीतको संरक्षणका लागि तरेली सांस्कृतिक परिवार गरेको मेहनत र क्रियाकलापको प्रशंसा गरे ।
संस्थाका मानार्थ सदस्य तथा कल्याण शेरचन स्मृति प्रतिष्ठानका अध्यक्ष क्या पूर्ण बहादुर ह्याल्मोले कोसिस र मेहनत निरन्तर गर्नेहरूले कहिल्यै पछि हट्नु नपर्ने बताए । उनले कलाकारहरूलाई बधाई दिदै सयौँको बीचमा सान्त्वना जित निकाल्नु प्रशंसनीय रहेको बताए ।

कार्यक्रममा हिमाली सांस्कृतिक परिवारका अध्यक्ष समेत रहेका संस्थाका मानार्थ सदस्य ज्ञान बहादुर थापा, एस के साउण्डका सञ्चालक तथा संस्थाका सल्लाहकार शेरबहादुर गुरुङ गण्डकी प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव मनकुमार श्रेष्ठ, संस्थाका मानार्थ सदस्य ताराबहादुर गुरुङ, पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकालले बोलेका थिए ।

कार्यक्रममा संस्थाका मानार्थ सदस्य, आजीवन सदस्य र सल्लाहकार लगायतको उपस्थिति रहेको थियो । तरेली सांस्कृतिक परिवारका अध्यक्ष राज बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन परिवारका सचिव रविन गुरुङले गरेका थिए ।
सान्त्वना स्थान हासिल गर्न सफल टिमलाई सोही कार्यक्रममा लोक नृत्य कलाकार सङ्घले समेत सम्मान गरेको थियो । तरेली सांस्कृतिक परिवार नेपाली कला संस्कृति भेषभुषाको संरक्षण गर्न नृत्यको माध्यमबाट निरन्तर क्रियाशील रहेको छ । मेरो डान्स युनिभर्स अन्तरगत कल्चरल ग्रुप डान्स प्रतिस्पर्धामा सामूहिक नृत्यतर्फ तरेली सांस्कृतिक परिवारको समुह फोर्थ रनरअप भएको थियो ।












