पोखरा । नेकपा एमालेको पोलिटब्युरो सदस्य महेश बस्नेतले देश अहिले अति जटिल अवस्थामा रहेको बताएका छन्।
शनिबार नेकपा एमाले कास्कीले संविधानको रक्षा र प्रतिगमनकारी षड्यन्त्र तथा अराजकता विरुद्ध आयोजना गरेको मोटरसाइकल र्‍यालीलाई सम्बोधन गर्दै बस्नेतले अहिलेसम्म कुनै पनि वैदेशिक आक्रमण नसहेको स्वतन्त्र मुलुक नेपालमा अहिले साम्राज्यवादीले हस्तक्षेप गर्न खोजिरहेका बताए । उनीहरूको त्यो चाहन पुरा हुन नदिन नेकपा एमाले र त्यसका अध्यक्ष केपी ओली अडिग भएर उभिएको बस्नेतले उल्लेख गरे । 

अहिलेसम्म ११ वटा देशमा जेनजी उचालेर सत्ता परिवर्तन गरिएको बताउँदै उहाँले ती ११ वटै देशको धेरै प्रकृति मिल्ने बताए । नेपालका जेनजीले भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जाल सञ्चालनका माग गरेका बताउँदै बस्नेतले अपराधीहरूले उनीहरूलाई भड्काएर भदौ २३ र १४ को घटना गएका बताए । ‘विदेशी शक्ति र त्यसका दलालहरूले बारबरा फाउण्डेसन बनाएर नेपाली बालबालिकाको छातीमा बम फिट गरी प्रतिनिधिसभा, सिंहदरबार, सर्वोच्च अदालत, अख्तियार स्वाहा पारे, काठमाडौँ पछि सबैभन्दा बढी क्षति गण्डकीको सदरमुकाम पोखरामा भयो’, उनले भने। 

देश ध्वस्त बनाउने मुख्य मतियार माओवादी अध्यक्ष प्रचण्ड भएका पनि उतले बताए । आफू प्रधानमन्त्री बन्ने तानाबाना बुनिरहेको बेला छोरीको घर जलेपछि प्रचण्ड झल्याँस्स भएका उनले सुनाए। 

प्रधानमन्त्री बन्न तम्सिएका अर्का पात्र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठग भएका बस्नेले बताए । लामिछाने देशको प्रधानमन्त्री होइन, जेलको नाइके हुने उनको भनाइ छ । त्यो भन्दा माथिको हैसियत लामिछानेको नभएको बस्नेतले बताए । 

बालेनको एउटा फेसबुक स्ट्याटसले नेपालको लोकतन्त्र सैनिक मुख्यालयमा लगेर बुझाउने प्रयास भएको भन्दै उनले आज वास्तविक जेनजीहरु बालेनको त्यो स्ट्याटस फलो गरेकोमा पछुताइ रहेका बताए । ‘संसद् विघटन त्यही बालेनको कारणले भयो, जसले जेनजीको प्रत्यक्ष निर्वाचित कार्यकारी बनाउने चाहना पुरा हुन पाएन, संविधान संशोधनको माग पुरा हुन सकेन’, उनले भने ।

 दलहरूलाई निषेध गरेकामा जेनजीहरू पछुताएका बताउँदै उहाँले आज जेनजीहरू दलहरू सहितको सरकार गठनको लागि प्रधानमन्त्रीलाई दबाब दिन लागेका बताए । एमाले सधैँ जेनजीको पक्षमा रहेको बस्नेतको भनाइ छ । अब टोल टोलमा डिजिटल जेनरेस बनाउने र टोलको सुरक्षा गर्ने काम एमालेले सुरु गरेको उनले जानकारी दिए । 

सामाजिक सञ्जाल मार्फत व्यक्तिका घर जलाउन आह्वान गर्ने व्यक्तिहरूलाई सरकारले कारबाही गर्नुपर्ने बस्नेतले माग गरे । ‘यदि प्रहरी र सरकारले नियन्त्रणमा लिएन भने राष्ट्रिय युवा संघ नेपालले माइतीघरमा घेर्ने छ र ठिक पार्ने छ, राष्ट्रिय युवा संघ नेपालले माइतीघरबाट गिरफ्तार गर्ने छ र प्रहरीलाई बुझाउने छ’, उनले भने।

 घरमा बम हान्ने, आक्रमण गर्ने र मार्ने धम्की दिइन्छ र गृह मन्त्री मूकदर्शक बन्छन् भने आफ्नो सुरक्षा आफैले गर्नुपर्ने स्थिति आउने उनले बताए । उनले त्यो स्थिति आउन नदिन सरकारलाई सचेत गराए । 

नेकपा एमालेको महाधिवेशन पोखरामा हुन लागेको बताउँदै उनले पोखरा महाधिवेशनले फेरी केपी ओलीलाई एमालेको अध्यक्ष बनाउने प्रष्ट पारे । ‘त्यो महाधिवेशनबाट हामी फेरी केपी ओलीलाई कास्कीबाट पार्टी अध्यक्ष बनाउने छौँ, किनभने केपी ओली राष्ट्रियताको नेता हो, केपी ओली हाम्रो सिमाना मिचिँदा संसारभरि गएर कराउन सक्ने नेता हो, सी जिन पिङ र पुटिनसँग कुम जोडेर नेपालको राष्ट्रियताको कुरा गर्न सक्ने नेता हो’, उनले भने। 

नेपाको सार्वभौमसत्ता कुनै पनि मुलुकको भन्दा कमजोर छैन भन्ने नेता नेकपा एमालेका अध्यक्ष केपी ओली भएको बस्नेतले बताए । विकास र समृद्धिको नेता नेकपा एमाले नै भएको उनको धारणा छ । ‘केपी ओलीलाई फेरी एक पटक अध्यक्ष बनाउने हो, कास्कीमा ल्याएर केपी ओलीलाई विदेशी साम्राज्यवादीको अगाडि, दलालहरूको अगाडि देखाउने हो, अध्यक्ष बनाएर देखाउने हो’, उनले भने। 

एमालेमा अध्यक्ष बन्न केही नेताहरूले हतारो गरेका बताउँदै उहाँले ती नेताहरूलाई पालो पर्खन आग्रह गरे । हतार गर्‍यो भने कहिल्यै पनि नेता नबन्ने स्थिति आउने बस्नेतले चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0