पोखरा । गण्डकी प्रदेशको ‘फ्रेन्चाइज’ टोली पोखरा एभेन्जर्सले  दोस्रो संस्करणको नेपाल प्रिमियर लिगको ट्रफी पोखरामा प्रदर्शन गरेको छ । रङ्गशालामा ट्रफी प्रदर्शन गरिएको हो । गण्डकी प्रदेशमा सोमबारदेखि ट्रफी टुर सुरु भएको थियो । सोमबार नवलपुरको गैडाकोटबाट सुरु भएको ट्रफी टुर, गोरखाको मनकामना मन्दिर, तनहुँ र स्याङ्जाको हुँदै पोखरा ल्याइएको हो । पोखरामा बाजागाजासहित  ट्रफीको स्वागत गरिएको थियो । 

पोखरामा आयोजित ट्रफी प्रदर्शन कार्यक्रममा प्रमुख अतिथि नेपालको चर्चित लोकपप ब्याण्ड नेपथ्यका मुख्य भोकलिस्ट अमृत गुरुङ रहेका थिए । उनले नेपाली क्रिकेटले छलाङ मारेको बताए । अहिले नेपाली क्रिकेट जगत् गुल्जार बनेको बताउँदै थोरै जनसङ्ख्या भएको देशले विश्व क्रिकेटमा मारेको फड्कोले विश्वको ध्यान खिचिरहेको बताए । उनले पोखरा एभेन्जर्सको टोलीलाई नेपाल प्रिमियर लिगका लागि शुभकामना दिदैँ राष्ट्रिय टोलीले अर्कोवर्ष हुने टी२० विश्वकपमा  जित निकाल्न शुभकामना दिए । सपना देख्न बिर्सन नहुने उनको भनाई छ ।

ट्रफी प्रदर्शनकै क्रममा रियल लाइफ एभेन्जर सम्मानबाट कुकुर हेरचाह तथा सेल्टर प्रदानमा सक्रिय झरना नेपालीलाई सम्मान गरिएको छ । यस्तै युट्युब ब्लगर सम्राट थापा मगरलाई सम्मान गरिएको छ । उनीहरूलाई प्रमुख अतिथि अमृत गुरुङ, पोखरा एभेन्जर्सका ब्रान्ड एम्बासडर कमेडियन सन्दिप क्षेत्री र पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले सम्मानपत्र र दोसल्लाले सम्मान गरेका हुन् ।

कार्यक्रममा बोल्दै पोखरा एभेन्जर्सका ब्रान्ड एम्बासडर कमेडियन सन्दिप क्षेत्रीले पोखरा र समग्र गण्डकी प्रदेशको पहिचानलाई उचाइमा पुराउन पोखराबासीलाइ एनपीएलका खेलहरूमा उपस्थित भएर साथ दिन आग्रह गरे । जेनजी आन्दोलनपश्चात स्तब्ध बनेको देशवासीलाई राष्ट्रिय क्रिकेट टोलीले अन्तराष्ट्रिय शृङ्खलामा लगातार जित निकालेर खुशी दिएको र एकताबद्ध बनाएको बताए । जात, धर्म, भाषा, संस्कृतिभन्दा माथी उठेर नेपाली भएर जुटाउनेकाम खेलकुदले गरेको बताउँदै यस्तै साथ र एकता पोखरा एभेन्जर्सलाई दिन पोखरेलीलाई आग्रह गरे ।

पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले गत सिजनको नतिजालाई नियाल्दै थप बलियो बनेर यसपटक उपाधि जित्ने हिसाबले पोखरा एभेन्जर्स मैदानमा उत्रने बताए । यसका लागि पोखरा एभेन्जर्सको टोलीले भारत  गएर अभ्यास गर्ने उनको भनाई छ । अध्यक्ष त्रिपाठीले पोखरा एभेन्जर्स एनपीएलमा राम्रो प्रदर्शन गर्नुमात्र नभई ग्रासरुटबाटै क्रिकेट खेलाडी उत्पादन गर्ने र नेपालले विश्वकप जित्नेसम्मको अवस्था ल्याउनेगरी मिसनमा लागेको बताए ।

आज नै अन्नपूर्ण आधार शिविरको अवलोकनमा जाने र त्यहाँ ट्रफी प्रदर्शन गर्ने तय भएको थियो तर प्रतिकुल मौसमका कारण हाललाई उक्त कार्यक्रम भने स्थगित भएको छ ।  ‘पोखरा एभेन्जर्स’ले दोस्रो संस्करणको ‘जर्सी’ मा परिवर्तन समेत गरेको छ । उक्त जसी अन्नपूर्ण आधार शिविरमा सार्वजनिक गरिने जनाईएको थियो तर मौसमका कारण जसी सार्वजनिक हुन सकेन । टोलीले केही दिनमा नै आधारशिविरमा जर्सी सार्वजनिक गरिने जनाएको छ ।

 पोखरा एभेन्जर्सको मार्की प्लेयरका रुपमा ओपनर व्याट्सम्यान कुशल भुर्तेल रहेका छन् । यसबाहे पोखरा एभेन्जर्समा अर्जुन कुमाल, सागर ढकाल, दिनेश खरेल,  विपिन खत्री, आकाश चन्द, किरन ठगुन्ना, तृतराज दास रहेका छन् । पोखरा एभेन्जर्सले विदेशी खेलाडीहरु भित्राउने क्रम समेत जारी छ । दोस्रो संस्करणको एनपीएल आउदो मंसिर १ गतेदेखि सुरु हुँदै छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0