पोखरा । पोखरा सभागृहमा आइतबार बिहान भएको आकस्मिक रक्तदानमा ३९ युनिट रगत सङ्कलन भएको छ । दशैँमा पीआरपी, फ्रेस ब्लड लगायत छिट्टै प्रयोगमा ल्याउनुपर्ने रगतको अभाव देखिन थालेपछी राष्ट्रप्रेमी युवाहरूको सञ्जाल र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी सङ्घ गण्डकीको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाद्वारा सञ्चालित प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो ।
दशैँमा लामो समय छुट्टी हुँदा रक्तदान कार्यक्रमहरू नभएकाले छिट्टै प्रयोगमा ल्याउनुपर्ने रगतको अभाव देखिन थालेको प्रादेशिक रक्तसञ्चार सेवा पोखराका प्रमुख अर्जुन ज्ञवालीले बताए । आकस्मिक रक्तदानले हाललाई रगतको अभाव समाधान भएको र भोलिदेखि रक्तदान कार्यक्रमहरू बढ्दै जाने ज्ञवालीले बताए ।
पोखरामा दैनिक ४० युनिट फ्रेस रगत आवश्यक पर्ने ज्ञवालीले बताए । हाल ५ दिनभित्रै प्रयोग गर्न मिल्ने प्लेटलेट्स कन्सर्नट्रेटबाहेक एक हप्ता, ३५ दिन, ४२ दिन, एकवर्ष सम्म नै चलाउन मिल्ने रगत भने पर्याप्त मात्रामा रहेको प्रमुख ज्ञवालीको भनाई छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ गण्डकीका अध्यक्ष दीपक बहादुर गोदारले शनिबार साँझ पोखरामा रगतको अभाव भएको थाहा पाउनासाथ रक्तदान कार्यक्रम गर्ने योजना बनाएर आकस्मिक रक्तदान गरिएको बताए । मानव जीवन बचाउनका लागि रक्तदान महत्वपूर्ण हुने बताए ।
राष्ट्रप्रेमी युवाहरूको सञ्जालका संयोजक देवेन्द्रराज सुवेदीले हाल देशमा बाढी पहिरो र बर्षाजन्य विपदका कारण घाइतेहरूको सङ्ख्या बढेकाले देशका अन्य जिल्लामा समेत रगत पठाउन सकियोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको बताए । राष्ट्रप्रेमी युवाहरूको सञ्जाल सन् २०१३ मा आपत विपतमा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको संस्था हो । हाल यसमा ४० भन्दा बढि युवा आवद्ध रहेको सुवेदीले बताए ।











