पोखरा । पानी पार्ने प्रणाली विस्तारै कमजोर बन्दै गएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिएका छन् । बागमती, मधेश र कोशी प्रदेशमा गएरातिसम्म ठूलो पानी परेकोमा बिस्तारै कम हुन थालेको उनले बताए । ठूलो पानी पार्ने प्रणाली अब कोशी प्रदेशमा मात्रै केन्द्रित भएको छ । यसअघि आज र भोलिसम्म नै ठूलो पानी पर्ने पूर्वानुमान गरिए पनि पानी पार्ने प्रणाली विस्तारै कमजोर बन्दै गएको र अब ठूलो वर्षाको सम्भावना नरहेको अर्यालले खुलाए ।
कोशी प्रदेशमा ठूलो पानी पार्ने प्रणाली अहिले केन्द्रित रहेको र दिउँसोपछि यो पनि विस्तारै मत्थर हुँदै जाने उनको भनाइ छ । ठूलो पानी पर्ने सम्भावना नभए पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै रहेको मौसमविद् अर्यालले बताए । बितेको २४ घण्टामा कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँमा ठूलो पानी परेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती प्रदेश र मधेस प्रदेशका क्षेत्रमा वर्षाको तीव्रता बिस्तारै घट्न थालेको छ । कोशी प्रदेशका भने धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भइरहेको र यो अझै केही घण्टा कायम रहन सक्ने देखिएको छ । अहिले आठ वटा नदी केन्द्रमा जलसतह खतरा तहभन्दा माथि छ । जसमा बागमती, सुनकोशी, अरुण, तमोर, कन्काई, बूढी खोला, बिरिङ खोला लगायत नदीका बाढीमापन केन्द्र छन् ।
कोशी, मधेश र बागमती प्रदेशका अरू सबै नदीनालाहरूमा बहाव सतर्कता तह नजिक रहेको विभागले जनाएको छ । पानी परिरहेका ठाउँ र पानी पर्न रोकिएका ठाउँका नदी खोलाहरुमा पनि बेलुकीसम्मै बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।
कोशी प्रदेशका पहाडी जिल्लाहरूमा आज बेलुकीसम्म नै सतर्कता अपनाउन आवश्यक छ । सप्तकोसी नदीको बहाव बढ्ने सम्भावना रहेको र अरु प्रमुख नदीहरू त्रिशूली, मर्स्याङ्दी, भोटेकोशी, सुनकोशी र रोशीमा पानीको बहाव क्रमशः घट्दै जाने अनुमान गरिएको छ ।
आज दिउँसो कोसी प्रदेश र मधेस प्रदेशका अधिकांश स्थामा पूर्ण बदली रही बागमती प्रदेश, लुम्बिनी प्रदेशमा साधारणतया बदली र बाँकी स्थानमा आंशिक बदली रहनेछ। कोसी प्रदेश र मधेस प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका पहाड र तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र मधेस प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशलगायत देशका पहाड क्षेत्रमा साधारणतया बदली रही बाँकी ठाउँमा आंशिक बदली रहने छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।











