पोखरा । गण्डकी प्रदेश सरकारले पर्यटन राजधानी घोषणा गरेको पोखरामा यतिबेला पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष २०२५ मनाइरहेको छ । आन्तरिक र वाह्य पर्यटक गरेर २० लाख पर्यटक पोखरामा भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्ष मनाइरहेको हो ।
पोखरामा पर्यटकको आवागमन बढाउन र बसाइ अवधि लम्ब्याउन यहाँको कला संस्कृति र खेलकुद गतिविधिले समेत महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । महानगर प्रमुख धनराज आचार्यले पनि पर्यटनसँग सम्बन्धित कार्यक्रममा आफ्नो मन्तव्यको क्रममा यहाँको कला संस्कृति अनि साहसिक सहितका खेल गतिविधिको बारेमा बयान गरिहाल्छन् । पोखरा सहित यस आसपासका क्षेत्रमा पर्यटकीय गतिविधि बढाउन यहाँ आयोजना हुने सांस्कृतिक कार्यक्रम र स्थानीय देखि लिएर राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगिताले खेलेको भूमिका सबैलाई जगजाहेरै छ ।
पोखरामा कति पर्यटक भित्रिए भन्ने यथार्थ रेकर्ड नुहुने भएकोले भ्रमण वर्षको अन्त्यमा विभिन्न तर्क र अनुमानित तथ्याङ्क सुनाएर महानगरले भ्रमण वर्षको लक्ष्य पुरा भएको पक्कै दावी गर्नेनैछ । त्यसोत, महानगरपालिका र आयोजकबीच विवाद, रस्साकस्सी भएपनि ‘कोटीहोम’ झण्डै दूई महिना पोखरामा आयोजना भयो । सहभागी हुनेको सङ्ख्या भने बाक्लै थियो । देशका विभिन्न जिल्लाबाट भक्तजन सहभागी बने । यो तथ्याङ्क समावेश गर्दा महानगरलाई लक्ष्य भेटाउन केही सहज पक्कै बनेको छ । बरु आफैले विरोध गरेको कार्यक्रमको सहभागितालाई उसले हिसाब गर्छ कि गर्दैन त्यो त पछि नै थाहा होला ।
यसरी भ्रमण वर्ष मनाइरहेको अवस्थामा यो क्षेत्रका गतिविधिलाई व्यापकता दिन र पर्यटकको आकर्षण बढाउनका लागि स्थापना भएका पोखरा प्रज्ञा प्रतिष्ठान र महानगर खेलकुद विकास समिति लामो समयदेखि नेतृत्वविहीन अवस्थामा पुग्नु दुःखद भएको छ । यसले महानगरका मेयर आचार्यले भाषणमा भन्ने गरेको भनाइ र काम गराइमा तालमेल नमिलेको देखिन्छ । महानगरले तीन वर्षको अवधिमा धेरै राम्रा काम गरेको र बाँकी अवधिको लागि समेत केही महत्वपूर्ण काम गर्न लागेको दावी गर्ने मेयर आचार्यको भनाइलाई यी दुई संस्था लामो समयदेखि नेतृत्वविहीन बन्दा गिज्याइरहेको छ ।
झण्डै डेढ वर्ष देखि पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति विहीन बनेको हो । तीन वर्षे कार्यकालका लागि २०७७ साल फागुन १९ गते कुलपतिमा नियुक्त भएका पदमराज ढकालको कार्यकाल २०८० फागुन १८ गते सकिएको हो । त्यसपछि हालसम्म पनि कुलपति सहित प्राज्ञ नियुक्त हुन नसक्दा प्रतिष्ठानका गतिविधि सञ्चालन हुन सकेका छैनन् । पोखराको दरबारथोकमा मासिक २२ हजार तिर्ने गरी भाडामा रहेको प्रतिष्ठानको कार्यालयमा दुई जना कर्मचारी खटाइएको भएपनि उनीहरु कार्यालय कुर्नमा मात्र सीमित भएका छन् ।
संस्थापक कुलपति पदमराज ढकाल सहितको टिमको कार्यकाल सकिय पश्चात प्रतिष्ठानले औपचारिक कार्यक्रम गर्न सकेको छैन । उनको कार्यकाल सकिने वित्तिकैको अवस्थामा कुलपति बन्नको लागि केही स्रष्टाले दौडधुप गरेका थिए । तर, महानगरपालिकाले चासो नदिँदा उनिहरुको दौडधुप घटेको छ ।
पोखरा प्रज्ञा प्रतिष्ठान ऐन अनुसार कुलपति, उपकुलपति चयन गर्नु अगाडि प्रज्ञासभाको सदस्य र प्रज्ञाप्रतिष्ठानको पदाधिकारीको मनोनयन र नियुक्तिको लागि उपप्रमुखको संयोजकत्वमा समिति निर्माण गर्नुपर्छ । सो समितिमा सम्बन्धित क्षेत्रका विज्ञहरूबाट महानगर प्रमुखले तोकेका २ जना सदस्य हुने व्यवस्था रहेको छ । समितिले प्रज्ञा सभा गठनको लागि नामहरु मनोनीत गर्दछ । पोखरा प्रज्ञा प्रतिष्ठान ऐन २०७६ को पहिलो संशोधनमा यसरी मनोनीत नामहरु मध्येबाट कुलपति, उपकुलपति र सदस्य सचिव प्रमुखले तोके बमोजिम हुने व्यवस्था छ ।
यस विषयमा पोखरा महानगरपालिकाका प्रवक्त्ता मोतिलाल तिम्सिना र मेयरका स्वकीय सचिव पूर्ण लामासँग पटक-पटक जिज्ञाशा राख्दा गतिविधि अगाडि बढिरहेको केही दिनमा गठन हुन्छ भनेपनि हुन सकेको छैन ।
पोखरा महानगरले पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरेको समयमा पोखरा महानगरका भाषा, साहित्य, संस्कृति, ललितकला, नाट्यकला, संगीतको अध्ययन अनुसन्धान लगायतका गतिविधि मार्फत प्रज्ञाप्रतिष्ठानको आवश्यकता थप मजबुत बनाउनुपर्ने हो । तर, प्रतिष्ठान आफै समस्यामा परेको छ । विस्तारै स्थापना गर्नुको औचित्यमाथि प्रश्न खडा हुने अवस्था समेत सिर्जना हुँदैछ ।
यति मात्र नभएर महानगरमा खेलकुद विकास गर्नको लागि गठन गरिएको महानगर खेलकुद विकास समिति नेतृत्व बिहीन अवस्थामा पुगेको १४ महिना भइसक्यो । दीपक गोदारको अध्यक्षतामा गठन भएको समितिको तीनवर्षे अवधिमा पोखराको खेल क्षेत्रमा केही आशा थपेको थियो ।
विशेषगरी ग्रासरुटबाट खेलाडी उत्पादन गर्नको लागि यसले मद्दत गर्ने अपेक्षा गरिएपनि लामो समय हुँदा समेत नयाँ नेतृत्व सहितको समिति गठन हुन सकेको छैन । समिति पोखरा महानगरपालिका खेलकुद विकास ऐन २०७५ अनुसार गठन हुनुपर्दछ । ऐनमा समितिले खेलकुद पर्यटनको विकास गर्ने लगायतका खेल क्षेत्रका गतिविधि गर्ने उल्लेख गरिएको छ । संस्थापक अध्यक्ष गोदारको कार्यकाल सकिए पश्चचात समितिले औपचारिक कार्यक्रम गर्न सकेको छैन । समिति गठन हुने आशाका साथ नेतृत्व सहित टिममा पुग्नेको दौडधुप जारी नै रहेको छ ।
















