पोखरा । गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी २० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन् । प्रादेशिक क्रिकेट सङ्घ गण्डकीको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा बुधबारदेखि सुरु भएको प्रतियोगितामा कास्कीले डिफेन्डिङ च्याम्पियन स्याङ्जा र नवलपुरले पर्वतलाई हराएको हो । 

पहिलो खेलमा कास्कीले स्याङ्जालाई ४ रनले हराएको छ । ९६ रनको विजयी लक्ष्य पाएको स्याङ्जालाई ९१ रनमा समेट्दै कास्कीले पहिलो जित हासिल गरेको हो । स्याङ्जाका लागि सिमाना केसी र कुसुम गोदारले बाहेक अन्य ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन् । सिमानाले ४० बलको सामना गर्दै १ चौका र १ छक्काको मद्दतमा ३१ रन बनाउँदै आउट भइन् ।

 कुशुमले २४ बलमा १ चौका प्रहार गर्दै १७ रन जोडिन् । रविना बुढामगर ४ र रञ्जना साउद ३ रनमा नटआउट रहिन् । आरमिना अधिकारी ६, सलिना सेन शून्य, अपेक्षा बुढाथोकी शून्य, निरु जिटी शून्य, ज्योत्सनिका मरासिनी १, सेरिना थापा ६, आकृति शून्यमा आउट भइन् । कास्कीको लागि सुशीला डिम्टुक र चन्द्रमाया बरालले समान २/२ तथा रचना चौधरी, यशोदा भुजेल र रिया तामाङले १/१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कास्कीले २० ओभरमा ५ विकेट गुमाउँदै ९५ रनका बनायो । कास्कीको जितमा रेखा तामाङले ३३ रनको उत्कृष्ट पारी खेल्दै अविजित रहिन् । उनले ३७ बलमा ३ चौका प्रहार गरिन् । शिखा दवाडी १ रनमा नटआउट रहिन् । कास्कीकी सिर्जना पौडेलले ३५ रनको योगदान दिइन् । उनले ५७ बलमा १ चौका प्रहार गरिन् । यस्तै श्रद्धा गुरुङ, चन्द्रमाया बराल २, रचना चौधरी शुन्य, विन्दु ठकुरि शून्यमा आउट भइन् । स्याङ्जाका लागि सिमाना केसीले ४ ओभरमा १४ रन खर्चंदै सर्वाधिक ३ विकेट लिइन् । निरु जिटीले १ विकेट लिइन् ।

दोस्रो खेलमा नवलपुरले पर्वतमाथि ४६ रनको जित हासिल गरेको छ । ७७ रनको विजयी लक्ष्य पाएको पर्वतलाई ९.५ ओभरमा ३० रनमै अलआउट गर्दै नवलपुरले जित हासिल गरेको हो । पर्वतका लागि कुनैपनि ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन् । विपिशा विक १, गरिमा केसी शून्य, सुशीला भट्टराई ३, एन्जल अधिकारी १, योगिता केसी २, जिविका क्षेत्री ३, प्रतिभा खड्का ९, कृषा अखेली शून्य, अनुशा पौडेल १ र रिजिता चापागाईँ शून्यमा आउट भइन् । नवलपुरका लागि आयुषा चापागाँईले ३.५ ओभरमा १ मेडनसहित १० रन खर्चेर सर्वाधिक ५ विकेट लिइन् । उनी खेलको वुमन अफ दी म्याच घोषित भइन् । यस्तै पूर्णिमा सुनारले २ तथा श्रेया शर्माले १ विकेट लिइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0