पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकारको औचित्य झनझन् पुष्टि हुँदै गएको बताएका छन् । गण्डकी प्रदेश सभामा शुक्रबारदेखि सुरु आव ०८२/०८३को नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा विशेष समय बोल्दै एमाले गण्डकी प्रदेश संसदीय दलका नेता समेत रहेका अधिकारीले सङ्घीयता सबलीकरण गर्ने दिशामा छौ भन्दै सही दिशामा रहेको दावी गरे ।

प्रदेश बनेपछि ९ सय ३० किलोमिटर सडक पक्की भएको तथ्याङ्क पेश गर्दै अधिकारीले प्रदेशको औचित्य छैन भनेर बस्न खान नभएको उल्लेख गरे । ‘माननीयको झोला, डायरी, एसएमएस ह्वाट्सएप अलिअलि देखेको छु । मेरो त धानी नसक्नु छ । विपक्षी दलको नेताको पनि त्यही हालत मैले सुन्ने गरेको छु, कहिलेकाँही मुख्यमन्त्री भेट्न जाँदा बाटो पनि पाइदैन्’, अधिकारीले भने, ‘२५ लाखको भए पनि बाटो चाहिन्छ भनेर आउँछन्, अनि तिनैले भन्छन्की प्रदेश चाहिदैन ।’

उनले सङ्घीयता अपरिहार्य शर्त रहेको बताएका उनले सङ्घीयता निरन्तर अगाडि बढ्ने प्रष्ट पारे  । नीति तथा कार्यक्रमले शानका साथ ६० जनालाई एकताबद्ध गरेर सङ्घीयताको औचित्यबारे भन्न सकेको भन्दै उनले यसलाई दृढ समर्थन रहेको जनाए । परिबन्ध, परिस्थिति र संसदीय अभ्यासका क्रमले सत्ता र विपक्षको बेन्चमा भए पनि नीति था कार्यक्रम साझा दस्तावेज रहेको भन्दै अधिकारीले प्रदेशको हकमा हामी एकै ठाउँमा रहेको सन्देश दिदैँ सबैले समर्थन गर्न आव्हान गरे ।

पूर्वमुख्यमन्त्री अधिकारीले राइड सेयरिङलाई कसैले पनि चुनौती दिन नसक्ने समेत बताए । प्रदेशको राजस्व बढाउने उद्देश्यसाथ राइड सेयरिङ नियमावली आएको उनको भनाइ थियो । ‘राइड सेयरिङ भइरहेको छ । त्यसलाई नियमन गरेर राजस्व बढाउने हाम्रो अधिकार हो’, उनले भने ।

एकातिर सङ्घीय सरकारले कानुन नबनाउने तर अर्कोतर्फ बनाएको कानुनको च्यालेन्ज गर्ने चलन रहेको भन्दै उनले यसले प्रदेशको राजस्व सङ्कलनमा बाधा उत्पन्न भएको बताए । राइड सेयरिङलगायत दहत्तर, बहत्तर र अन्य राजस्व सङ्कलन गर्न नपाइएको उनको भनाई थियो ।

प्रकृति, संस्कृति र साहसिक पर्यटन गण्डकी प्रदेशका लागि गौरवका विषय भएको बताए । त्यसका लागि नीति तथा कार्यक्रमले सम्बोधन गरेको बताए ।

नीति तथा कार्यक्रमले राइड सेयरिङ, घरेलु मदिरा, गाँजालगायत क्षेत्रबाट राजस्व बढाउने योजना अघि सारेको र यसले जग्गा किनेर भए पनि औद्योगिक क्षेत्र बनाउनु पर्छ भन्ने आत्मविश्वास जगाएको अधिकारीले बताए । हाम्रो मार्गदर्शन, हाम्रो बाटो, हामी कसरी जाने, हाम्रो सिमित स्रोत साधनले प्रदेशबासीको चाहना कसरी पुरा गर्ने भन्ने दस्तावेज रहेको र यसमा लेखिएका अक्षरभित्र बिचार र दृष्टिकोणसमेत भएकाले यो सामान्य र परम्परा मात्र भनेर बुझ्दा न्यायोचित नहुने उनको तर्क थियो । नीति तथा कार्यक्रमले हामी जे भन्छौ, थोरै बोल्छौ, सक्ने गरी बोल्छौ भन्ने कुराको निर्दिष्ट गरेको  उनले बताए ।

राजनीतिक अस्थिरताका कारण नागरिकमा बढ्दो निराशालाई भरोसामा परिणत गर्दै स्थायित्व प्रदान गर्न, प्रदेशका जनताको हितको रक्षा गर्न, प्रदेशका संरचनाहरुप्रति उठेको प्रश्नको व्यवहारबाटै सकरात्मक जवाफ दिन, प्रदेशको आन्तरिक आय बृद्धि गर्न, सरकारको संरचनागत क्षमताको अभिबृद्धि गर्दै पूजीगत खर्च बृद्धि गर्न, विश्वसनीय व्यवसायीक वातावराण सिर्जना गरी उत्पादकत्व बृद्धि र रोजगारी सिर्जना गर्न, नागरिकलाई छिटोछरितो चुस्त दुरुस्त र प्रभावकारी सेवा प्रदान गर्न, भ्रष्टाचार नियन्त्रण गरी प्रदेशमा सुशासन कायम गर्न एव प्रदेश र स्थानीय तहमा हुने बिकास निर्माणको अभियानलाई तिब्रता दिन हामीले अहिलेको समीकरण बनाएको र प्रदेशमा न्यूनतम साझा नीति तथा कार्यक्रम आएको उनले बताए ।

गण्डकीले सुशासनलाई अत्यन्तै ध्यान दिएको, पछिल्लो पटक हामीले पनि ध्यान पुराएको र प्रदेशले भनेको आत्मनिर्भर र समुन्नत प्रदेश सुखी प्रदेशबासी तर्फ जाने गरी नीति तथा कार्यक्रमले बाटो निर्दिष्ट गरेको, यो सही र ठिक दिशामा रहेको उनले बताए । नीति तथा कार्यक्रमले कृषि, पर्यटन, सिचाइ क्षेत्रमा नयाँ डिपार्चरको सुरुवात गरेको उल्लेख गरे। गण्डकी प्रदेशले पहिलोपटक श्रमको सम्मान मर्यादित काम न्यायोचित ज्याला सामाजिक सुरक्षा लगायतका श्रम नीतिका आधारभूत मान्यतालाई स्थापित गरिनेछ भनेर सम्बोधन गरेको बताए । नेपालबाट धेरै रेमिट्यान्स भारत जाने गरेको भन्दै त्यसलाई रोक्ने खालका कार्यक्रम समेत नीति तथा कार्यक्रमले जोड दिएको दावी गरे । धार्मिक, साँस्कृतिक, साहसिक र  प्राकृतिक पर्यटनलाई उल्लेख गर्दै त्यसको अध्ययन गर्दै विश्व सम्पदा सूचिकृत गर्ने ठाउँमा लाने कुरालाई अगाडि बढाएको खुलाए । अहिलेको नीति तथा कार्यक्रममा भएका कुरा सबै बजेटमा प्रतिबिम्बित गर्न सक्नुपर्ने बताएका उनले यसको कार्यान्यवयनमा सबैलाई साथ र समर्थन गर्न आग्रह गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0