पोखरा । नेपाल पत्रकार महासङ्घ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा पत्रकारका लागि फोटो तथा मोबाइल पत्रकारिता तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै महासङ्घ कास्कीका संस्थापक अध्यक्ष उमाकान्त शर्माले प्रविधिको विकाससँगै पत्रकारिता वृहत बन्दै गएको बताए । क्षमता अभिवृद्धि तालिमले पत्रकारलाई यस क्षेत्रमा टिकिरहन मद्दत गर्ने बताए । राज्यको चौथो अङ्गका रुपमा परिचित पत्रकारिताको धर्म समाजमा भइ रहेका गतिविधि नियाल्दै गलत कार्यमा खबरदारी र झक्झकाउन सक्नु पर्ने बताए ।
पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले तालिमबाट प्राप्त ज्ञान र सीपलाई आफ्नो काम र व्यवहारमा लागू गर्नु पर्ने बताए । पत्रकारले राज्यका निकायहरू खबरदारी गर्दै समाजलाई सुसूचित गर्नु गर्ने बताए । फोटो पत्रकार सङ्घ कास्कीका अध्यक्ष राम गुरुङले शब्दले व्यक्त गर्न नसक्ने सन्देश एउटा फोटोबाट प्रवाह गर्न सकिने बताउँदै हरेक पत्रकारमा फोटो पत्रकारिताबारे ज्ञान हुनु पर्ने बताए ।
तालिमको पहिलो दिन सहजिकरण गर्दै वरिष्ठ फोटा पत्रकार एवम् संरक्षणकर्मी कृष्णमणि बरालले फोटो पत्रकारिताको आचारसंहिता सहित फोटो पत्रकारिता गर्दा आफूले भोगेका चुनौतीका बारेमा अनुभव सुनाए । दोस्रो र तेस्रो दिन वरिष्ठ फोटो पत्रकार एवं मोबाइल पत्रकारिता विशेषज्ञ विकास कार्कीले प्रशिक्षण गर्ने छन् ।
नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव प्रसाद बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत महासङ्घका उपाध्यक्ष एवम् प्रशिक्षण विभाग प्रमुख माधव रेग्मी र सञ्चालन सह सचिव मधु अधिकारीले गरेका थिए । तीन दिन सम्म सञ्चालन हुने तालिममा विभिन्न सञ्चारमाध्यममा आवद्घ ७० जना पत्रकार एवम् सञ्चारकर्मीको सहभागिता छ ।
