पोखरा । दोश्रो राष्ट्रिय डुङ्गा दौड प्रतियोगितामा पुरुषतर्फ फेवा हर्पन सहकारी र महिलातर्फ ताल पारी समुह प्रथम पोखरा । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आयोजना तथा फेवा डुङ्गा व्यवसायी सङ्गठनको व्यवस्थापनमा पोखराको फेवातालमा आइतबार सम्पन्न दोश्रो राष्ट्रिय खुला डुङ्गा दौड प्रतियोगितामा पुरुषतर्फ हर्पन सहकारी संस्थाको ‘बी’ टोली तथा महिलातर्फ ताल पारी ‘बी’ प्रथम भएका छन् । पुरुषतर्फ बाराही डुङ्गा घाटले दोश्रो, स्विमिङपुल घाटले तेश्रो तथा फिस्टेल घाटले सान्त्वना स्थान हासिल गरे । महिलातर्फ गौरीघाटले दोश्रो पहारीघाटले तेश्रो तथा जलारी दिदी बहिनी समुहले सान्त्वना स्थान हासिल गरे ।

 प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ प्रथम हुने टिमले नगद ४० हजार, द्वितीयले नगद ३० हजार, तृतीयले नगद २० हजार तथा सान्त्वना स्थान हासिल गर्ने टिमले नगद १० हजार सहित ट्रफी, मेडल, प्रमाण–पत्र पुरस्कार प्राप्त गरेका छन् । उनीहरूलाई एक समारोहकाबी पुरस्कार वितरण गरिएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाराही घाटमा आयोजित समारोहमा प्रतियोगिताको उद्‌घाटन गरेका थिए । सो अवसरमा मुख्यमन्त्री पाण्डेले पोखराको पर्यटन प्रवर्द्धनका लागि फेवातालको संरक्षणमा जोड दिए । डुङ्गा खियाउदा चालकले आफ्नो र यात्रुहरूको सुरक्षामा विशेष ध्यान दिनुपर्ने मुख्यमन्त्री पाण्डेको भनाई थियो । परम्परागत क्रियाकलाप मार्फत मात्र नभई अन्य किसिमबाट पनि फेवाताललाई पर्यटक आकर्षणको केन्द्र बनाउनेबारे पोखरा महानगरका मेयर आचार्यसँग छलफल गरिरहेको बताए ।

कार्यक्रमका विशेष अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले परम्परागत डुङ्गा दौड प्रतियोगिता फेवा डुङ्गा व्यवसायी सङ्गठनले प्रत्येक वर्ष जेठ १० गते गर्नेगरी प्रस्ताव गरेको जनाउँदै अब पोखरा महानगरपालिकाले क्यालेन्डरमा नै समावेश गरेर यो प्रतियोगिता गर्ने बताए । कार्यक्रममा उनले फेवाताल पर्यटकीय राजधानी पोखराको प्रमुख गहना र मुख्य पहिचान भएकोले यसको संरक्षण गर्नु सबैको दायित्व भएको बताए ।

फेवा डुंगा व्यवसायी सङ्गठन अध्यक्ष बलराम गिरीले फेवातालको विगत, वर्तमान अवस्थाको बारेमा अवगत गराउँदै फेवातालको महत्व बुझाउन पनि यो प्रतियोगिता आयोजना गरिएको बताए । फेवातालमा हुन सक्ने भवितव्य घटनाबारे सचेतनामूलक जानकारी दिने कार्यक्रमको अर्को उद्देश्य रहेको गिरीको भनाई थियो । फेवाताल वरिपरिका बासिन्दाहरू फेवाताललाई रोजीरोटी बनाएर जिविकोपार्जन गरेर बसिरहेको बताउँदै बढ्दै गएको फोहोर, जलकुम्भी झारको प्रकोप, पछिल्लो समय कायाकिङ लगायतका कारण परम्परागत डुङ्गा व्यवसाय गर्दै आएकाहरु मर्कामा परेको अध्यक्ष गिरीको भनाई छ ।

सो अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका बरिष्ठ अधिकृत सागर श्रेष्ठले फेवातालका बारेमा राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा प्रचार प्रसार गर्ने तथा पोखरामा पर्यटक भित्र्याउँदै पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्येश्यका साथ यो प्रतियोगिता आयोजना गरिएको जनाए । समारोहमा बोल्दै महिला सञ्जाल पोखरा ६ का अध्यक्ष बविता मल्लले यस्ता कार्यक्रमले पोखराको आर्थिक चलायमान बन्ने बताईन् ।

समापन समारोहमा प्रतियोगितालाई सफल पार्न सहयोग गरेका प्राविधिक संयोजक राजन पौडेल, खेम गुरुङ, आविश्कार हस्पिटल लगायतलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । सञ्चारकर्मी दीपेन्द्र पहारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0