पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा सहभागी हुन भागवत् मञ्जरी राधिका दासी पोखरा आएकी छन् । उनलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कोटीहोमका संकल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्तिजी महाराज सहित आयोजकले भव्य स्वागत गरे । राधिका दासीले शनिबारदेखि जेठ २६ गतेसम्म श्रीमद्देवी भागवत कथा वाचन गर्ने प्रचार-प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । भागवत मञ्जरी दासीले इतिहासमा यस्तो सय कुण्ड भएको यज्ञ होमहोमादी हुने ठाउँमा कथा वाचन गर्न आउन पाउँदा आफूलाई भाग्यमानी ठानेको बताएकी छन् । महायज्ञका सङ्कल्पकर्ता महाराजले आँटेका हरेक गतिविधिमा पूर्णरूपमा साथ दिँदै आएकी कथा वाचिका देवी प्रतिभा र राधिका दासीको कोटीहोम आगमनले आफूलाई उर्जा मिलेको बताए । देवी प्रतिभालाई बहिनीको रूपमा र राधिका दासीलाई माताको रूपमा सम्बोधन गर्दै आएका महाराजजीले देवी र माताको प्रवचन श्रवण गर्ने अवसरलाई सदुपयोग गर्न आग्रह गरे ।
राष्ट्रिय भजन प्रतियोगिता
कोटीहोममा आयोजित राष्ट्रिय भजन प्रतियोगिताको समापन शनिबार हुनेछ । संयोजक प्रजापति पराजुलीका अनुसार प्रतियोगितामा तीन सय पाँच टिमले सहभागिता जनाएका छन् । शुक्रबारसम्ममा दुई सय ५२ टिमले आआफ्ना भजन प्रस्तुति राखिसकेको उनले बताए । विभिन्न कारणले केही सहभागी टिम आउन नसकेको उनले बताए । प्रतियोगितामा प्रथम हुनेले तीन लाख ५१ हजार पाँच सय पाँच, द्वितीय हुनेले दुई लाख ५१ हजार पाँच सय पाँच, तृतीय हुनेले एक लाख ५१ हजार पाँच सय पाँच र सान्त्वना स्थान हासिल गर्नेले ६५ हजार पाँच सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
छ सय ५० युनिट रगत सङ्कलन
कोटीहोममा आयोजित खुला रक्तदान कार्यक्रम जारी छ । हालसम्म छ सय ५० युनिट रगत सङ्कलन भएको आयोजकले जनाको छ । प्रचण्ड गर्मीको कुनै प्रवाह नगरी कोटीहोममा सहभागीले रक्तदान गरेका हुन् । कोटीहोम समापनसम्ममा एक हजार बढी युनिट रगत सङ्कलन हुने अपेक्षा गरिइएको छ ।
शिवको मूर्ति र शिवलिङ्ग आकर्षण
कोटीहोममा सहभागी हुने भक्तजनको आकर्षणको केन्द्रबिन्दु विशाल शिव मूर्ति र शिव लिङ्ग हुने गरेको छ । यसमा भक्तजनको मात्र होइन धेरैको ध्यान खिचेको छ । शिव मूर्ति र शिव लिङ्गको अगाडि बसेर फोटो खिच्नेको भिड नै लाग्ने गरेको छ । सामाजिक सञ्जालमा पनि शिव मूर्ति र शिव लिङ्गको धेरैले प्रशंसा गरेको प्रचारप्रसार संयोजक ढकालले जानकारी दिए । शिव लिङ्ग एक करोड थान रुद्राक्षबाट बनाइएको छ । यस प्रकारको शिव लिङ्ग अन्यत्र कहीँ पनि नबनेको आयोजकको दावी छ । शिवमूर्ति निकट भविष्यमा स्याङ्जामा राख्ने तयारी भइरहेको छ । यस्तै एक सय हवन कुण्डले पनि भक्तजनको ध्यान खिचेको छ । राधिका दासीले पनि हवन कुण्डको निकै प्रशंसा गरेकी छन्् । एक सय हवन कुण्ड एकै स्थानमा कहीँ पनि नभएको उनको दावी छ ।
भक्तजनको संख्या १५ लाख बढी, शनिबार तीन लाख आउने अपेक्षा
प्रचारप्रसार संयोजक ढकालका अनुसार कोटीहोममा हालसम्म १५ लाख बढी भक्तजन सहभागी भएका छन् । कोटीहोम समापनतर्फ उन्मूख भइरहँदा भक्तजनको सहभागिता बढ्दै गइरहेको छ । कोटीहोममा बिहीबार दुई लाख र शुक्रबार एक लाख २० हजार भक्तजन सहभागी भएको उनको दावी छ । शनिबार करिब तीन लाख भक्तजन आउने सहभागी हुने अपेक्षा गरिएको छ । शनिबार बिदाको दिन र राधिका दासीको प्रवचन शुरु हुने भएकाले भक्तजन बढ्ने अपेक्षा गरिएको छ । संयोजक ढकालले पोखरामा आयोजित कोटीहोमले अन्तर्राष्ट्रिय जगतकै ध्यान खिच्न सफल भएको बताए । कोटीहोममा भारतबाट नै गाडी रिजर्भ गरेर हजारौँ भक्तजन आएको उनको भनाइ छ । संयोजक ढकालका अनुसार गतवर्ष काठमाडौँ आयोजित पशुपति कोटीहोममा भन्दा गण्डकी कोटीहोममा धेरै भक्तजन सहभागी भएका छन् । शुक्रबार जगत गुरु शंकराचार्य माता हेमानन्द गिरिजी महाराज, पूर्वमन्त्री मेटमणि चौधरी र शेरबहादुर कुँवरलगायत सहभागी थिए ।
