पोखरा । राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिव टङ्कलाल घिसिङले इतिहासमै पहिलोपटक नेपाली खेलकुदमा उत्साहजनक रुपमा बजेट विनियोजन भएको बताएका छन् । सरकारले बिहीबार युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेपछि शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा सदस्यसचिव घिसिङले खेलकुदका लागि विनियोजन हुने बजेटमा उल्लेखनीय बढोत्तरी भएको बताएका हुन् । उनले सरकारले स्वागतयोग्य बजेट ल्याएको बताउँदै अब यसको कार्यन्वयन पक्षहरूमा ध्यान दिनुपर्ने बताए । पूर्वाधार निर्माणको सन्दर्भमा केन्द्रले डिपिआर तयार पारिसकेको, केन्द्रको नाममा आइसकेका जग्गाहरूमा बनाइने आयोजनाहरूलाई खेलकुद परिषदले प्राथमिकता दिने सदस्य सचिव घिसिङको भनाई छ । 

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा सदस्य सचिव घिसिङले गण्डकी प्रदेशमा खेलकुदका लागि कम बजेट परेको भन्ने भनाइमा सत्यता नभएको बताए । परिषदको बजेट प्रस्ताव गर्दा नै उमेर समुहको विश्वकपसमेतलाई मध्यनजर गरेर पोखरा क्रिकेट रङ्गशालालाई प्राथमिकतामा राखिएको बताए । पोखरा रङ्गशालाको नियमित स्तरोन्नतिका कामहरू यसवर्ष पनि चालु राखिने सदस्य सचिव घिसिङको भनाई छ । यसका अलावा पोखरा रङ्गशालामा रहेको कभर्डहललाई थप व्यवस्थित बनाउनेतर्फ पनि राखेपको ध्यान केन्द्रित रहेको बताए । 

 ‘नेपाल सरकारले आफ्नो बजेट पेश गरेको छ नेपाली खेलकुदको इतिहासमा अङ्कमा बजेट निकै ठूलो बढोत्तरी भएको छ । यो नेपाली खेलकुदका लागि उत्साहजनक विषय हो । गण्डकी प्रदेशलाई शून्य भन्ने कुरा सत्य होइन । बजेटमा हाइलाइट्स राख्ने गरिन्छ सबै कार्यक्रम पेश गर्न सम्भव छैन’ उनले भने, ‘मन्त्रालयको बजेट कति रह्यो र कार्यक्रमका मुल मुल हाइलाइट्स राखेर पुरा बजेटलाई पेश गर्ने कुरा हो । त्यसकारणले सदस्य सचिवको हिसाबले परिषदको बजेटमा गण्डकीका पूर्वाधार परेका छन् भन्न चाहान्छु ।’ पोखरा रंगशालाभित्रको क्रिकेट मैदानका लागि बजेट विनियोजन भएको र यस अघि आएको भन्दा तेब्बर बजेट आउने समेत उनले सुनाए । 

 सदस्य सचिव घिसिङले २०७९ कार्तिक २ गते ११५ औँ बैठकले २०८१ मंसिर २ देखि ९ गतेसम्म दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको स्मरण गर्दै निकै उत्साहका साथ तयारीमा जुटेपनि विविध कारणले समयमा प्रतियोगिता गर्न नसकिएको बताए । यो वर्ष दशौं राष्ट्रिय खेलकुदका लागि ५४ करोड बजेट विनियोजन भएकाले अब भने प्रतियोगताका लागि कुनै ढिलाई नहुने आश्वासन व्यक्त गरे । यो धेरै बजेट पूर्वाधारमा विनियोजन हुँदा त्यसमा पनि क्रिकेट खेल धेरै लाभान्वित भएको छ । टीयू मैदान सहितका क्रिकेट रङ्गशालाहरू स्तरोन्नतिका लागि तोकिएर बजेट विनियोजन भएको छ । राष्ट्रिय खेल भलिबल र फुटबलका लागि पनि पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको बताइएपनि कति छुट्याइएको छ भन्ने विवरण भने आउन बाँकी छ । क्रिकेटको तुलनामा अन्य खेलका लागि कम बजेट रहेको स्वभाविक रुपमा बुझ्न सकिन्छ ।

सदस्य सचिव घिसिङले नेपाल खेलकुद पत्रकार मञ्चका लागि रंगशालाभित्रको एक सभाहल प्रदान गर्ने प्रतिबद्धता जनाउँदै केही दिनमा सभाहल हस्तान्तरण गर्ने गरी तयारि गर्न जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङलाई निर्देशन दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0