पोखरा । नेपाल कम्युनिष्ट पार्टी एमाले वडा कमिटी, पोखरा ५ ले गणतन्त्र दिवसको अवसर पारेर ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र को संस्थागत विकास आजको प्रमुख सवाल’ विषयक प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा आफ्नो प्रस्तुती राख्दै नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले गणतन्त्र स्थापनाका लागि पार्टीले र महान सहिदहरूले खेलेको अहम् भूमिकाको बारेमा प्रकाश पारे । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका उनले सङ्घीय लोकतान्त्रीक गणतन्त्र स्थापना भए पश्चात देशमा भएको आमूल परिवर्तन र गणतन्त्रलाई संस्थागत गर्न बलियो बनाउन गर्नुपर्ने कार्यहरू समेतको बारेमा सहभागीलाई स्पष्ट पारेका थिए ।
नेकपा एमाले पोखरा महानगर कमिटीका अध्यक्ष जीवन आचार्यले वंशका आधारमा र पुरातनवादी सोचका साथ शासन गरिने शासन लोकप्रिय, विकासप्रेमि हुँदैन भन्नेमा जोड दिए ।
वडा कमिटी ५ बाट नेकपा एमाले को प्रदेश, जिल्ला र महानगर कमिटीमा प्रतिनिधित्व गर्ने नेताको उपस्थितिमा भएको उक्त प्रशिक्षण कार्यक्रममा बोल्दै वडा कमिटीका अध्यक्ष लक्ष्मण बरालले देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेको तर केही कथित पुरातनवादी र सामन्तवादका अवशेषहरूले फेरि राजा ल्याउनेछौ भन्ने कुचेष्टा गरेको जानकारी गराउँदैँ, उनीहरूको प्रयास संविधानतः सम्भव नै नभएको कुरा बताए । लामो समय राजतन्त्र पनि हेरेकै हो र भोगेकै हो भन्दै उनले वंशगत परम्परामा आधारित अनिर्वाचित सत्तालाई प्रतिनिधित्व गर्ने राजतन्त्र निरङ्कुश र स्वेच्छाचारी हुन्छ भन्ने राजा बिरेन्द्रको वंशनाश पछिको राजतन्त्रले प्रष्ट पारेको बताए ।
राजदरबार हत्याकाण्ड र सम्पूर्ण राजपरिवारका सदस्यहरूको वंशनाश भएपछि नेपालमा राजतन्त्र विधिवत् रुपमा नै समाप्त भइसकेको कुरालाई सबैले स्वीकार गरिसक्दा पनि केही हालै ज्योतिष बनेका र पन्चे तथा मण्डलेहरू अझ निन्दामै रहेको र उनीहरु एक दिन बिउँझिएर झसङ्ग हुने उल्लेख गरे । २ सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्य भएको दिन अर्थात जनताको जित भएको विशेष दिन गणतन्त्र दिवसका अवसरमा उपस्थित सबैलाई वडा पार्टी कमिटीको तर्फबाट शुभकामना व्यक्त गर्दै गणतन्त्र स्थापनाका लागि भएका १९ दिने जनआन्दोलन एवं विभिन्न सङ्घर्षहरूमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली एवं श्रद्धासुमन अर्पण गरेका थिए ।
कार्यक्रमको सञ्चालन पार्टी कमिटीका सचिव बसन्त गौतमले तथा स्वागत उपाध्यक्ष पान प्रसाद तिमिल्सिनाले गरेका थिए । प्रशिक्षण कार्यक्रममा वडा नं ५ का नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
