पोखरा । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आयोजनामा पोखराको फेवातालमा राष्ट्रिय खुला डुङ्गा दौड प्रतियोगिता हुने भएको छ । फेवा डुङ्गा व्यवसायी सङ्गठनको व्यवस्थापनमा आगामी जेठ १८ गते उक्त प्रतियोगिता हुन लागेको पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महिला तथा पुरुषतर्फ खुला रुपमा यो प्रतियोगिता सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
फेवातालका बारेमा राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा प्रचार प्रसार गर्ने, फेवातालमा हुन सक्ने भवितव्य घटनाबारे सचेतनामूलक जानकारी दिने, फेवातालको महत्व बुझाउन तथा पोखरामा पर्यटक भित्र्याउँदै पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संस्थाका गण्डकी प्रमुख मणिराज लामिछानेले पत्रकार सम्मेलनमा बताए ।
महिलातर्फ बाराहीघाट देखि पारी लिच्ची गार्डेनसम्म जाने आउने जाने सहित झण्डै २ किलोमिटर तथा पुरुषतर्फ बाराहीघाट देखि पारी लेक हाउससम्म जाने आउने गरि झण्डै ३ किलोमिटरको दूरीमा प्रतिस्पर्धा गराइने व्यवस्थापन समितिका अध्यक्ष बलराम गिरीले जनाए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार, द्वितीयले नगद ३० हजार, तृतीयले नगद २० हजार तथा सान्त्वनास्थान हासिल गर्ने टिमले नगद १० हजार सहित मेडल, प्रमाण–पत्र पुरस्कार प्राप्त गर्नेछन् । पुरुषतर्फ २० टिम तथा महिलातर्फ १० टिमको सहभागिता रहने आयोजकको अपेक्षा छ । प्रत्येक टिममा तीन जना डुङ्गा चालक रहने छन् ।
प्रतियोगिता सफल पार्न फेवा डुङ्गा व्यवसायी सङ्गठनका अध्यक्ष बलराम गिरीको अध्यक्षतामा मूल आयोजक समारोह तथा प्रतियोगिता संयोजक बत्ती गुरुङको संयोजकत्वमा विभिन्न १२ वटा उपसमितिहरू गठन गरिएको सो अवसरमा जानकारी दिइयो । व्यवस्थापन समितिका सचिव शिव जिसीले कार्यक्रम सञ्चालन गरेका थिए ।
