पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले मदन भण्डारीको असल उत्तराधिकारी पार्टी अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी कास्कीले ३२ औं मदन आश्रित स्मृति दिवसको सन्दर्भमा शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘जनताको बहुदलीय जनवादका प्रतिपादक जननेता मदन भण्डारीले नेपालका कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनलाई उचाइमा पुर्‍याए,’उनले भने, ‘मदन भण्डारीको असल उत्तराधिकारी पार्टी अध्यक्ष केपी शर्मा ओली हो ।’ 

उनले राष्ट्रियताको रक्षा र देशको समग्र विकासमा सरकारले ध्यान दिएको बताए । एमाले अध्यक्ष ओली नेतृत्वको वर्तमान सरकारले जनतामा आशा जगाएको समेत उनले दावी गरे । अधोगतिमा लागेको अर्थतन्त्रलाई सुधारको लागि प्रयास भएको उल्लेख गर्दै उनले सरकारले सडक पूर्वाधार, विमानस्थल लगायत गौरवयोग्य काम गरेको उल्लेख गरे । वर्तमान परिस्थितिमा जनताको बहुदलीय जनवाद विषयक प्रवचन सहितको कार्यक्रममा स्थायी कमिटी सदस्य अधिकारीले ज्येष्ठ कम्युनिस्टले बनाएको जस्तै अवस्थामा अहिले पार्टी रहेको सुनाए । सोही कार्यक्रममा नेपालको कम्युनिस्ट आन्दोलनमा योगदान पुर्‍याएका ३ सय ५० ज्येष्ठ कम्युनिस्टहरूलाई सम्मान गरिएको थियो ।

 ज्येष्ठ कम्युनिस्ट मञ्चमा मनोनित सदस्यलाई उनीहरूको योगदानको कदर गर्दै सम्मान गरिएको एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । उनीहरूलाई पूर्व मुख्यमन्त्री अधिकारीले सम्मानपत्र अर्पण गरेका थिए । मदन आश्रित स्मृति दिवसको अवसरमा नेता तथा कार्यकर्ताको पठन संस्कृतिको विकास गर्न नेकपा एमाले पोखरा महानगर कमिटीले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको मुख्य विशेषता पढाएको छ । पोखरा महानगरपालिका–१६ खोलाखेतस्थित मदन –आश्रित पार्क सरसफाइ, शालिकमा माल्यार्पणसँगै जवजको विशेषता वाचन कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा पार्टीका स्थायी कमिटीका सदस्य अधिकारीले जवजको १४ विशेषताको विवेचनात्मक व्याख्या गरेका थिए । उनले जननेता भण्डारीको विचारलाई सबै नेता तथा कार्यकर्ताले अनुसरण गर्नपर्ने बताए । उनले नेपालमा कम्युनिस्ट पार्टी खुल्ला समाज तथा बहुदलीय प्रतिस्पर्धालाई आधार मानेर राज्य सत्तामा पुगेर प्रगतिशील सुधारको काम गरेको जानकारी दिए । 

एमाले कास्की अध्यक्ष अधिकारीले पार्टी प्रतिबन्धको अवस्थामा अहिलेका ज्येष्ठ कम्युनिस्टहरू सेल्टरदाता भएको बताए । उनले अग्रजको योगदानलाई पार्टीले कहिल्यै नभुल्ने प्रतिवद्धता जनाए । ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्य गोविन्दकुमार श्रेष्ठले पार्टी निर्माणमा सक्दो सहयोग र योगदान गरेको जनाए । उनले एमालेका एकल बहुमतको सरकार बनाउने इच्छा जाहेर गरे । ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्य कुलदिप बरालले कहिल्यै विचलित नभएर पार्टीको काममा खटेको दाबी गरे । कार्यक्रममा एमाले कास्कीका उपाध्यक्ष भेषराज बराल, सचिव दर्शन लामा लगायतले कम्युनिस्ट आन्दोलनमा मदन भण्डारी र जीवराज आश्रितको योगदानको बारेका बोलेका थिए । यसैगरी ३२ औं मदन आश्रित स्मृति दिवसको सन्दर्भमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेश कमिटीको आयोजनामा शनिबार निशुल्क आँखा शिविर सम्पन्न भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0