पोखरा । २०७७ सालको घटस्थापनाको दिनमा ‘कान्छी’ गीत सार्वजनिक गरेका गायक रोहनजङ्ग कार्की यतिबेला ‘कान्छी २’ सार्वजनिक गर्ने तयारीमा जुटेका छन् । जसको लागि गीत रेकर्ड भैसकेको छ । विराज गौतमको रचना, कम्पोज र एरेन्जमा तयार भएको गीतमा गायक कार्कीले आवाज भरेका छन् । गीत सिजन बज्राचार्यले रेकर्ड गरेका हुन् । अब आकर्षक भिडियो बनाएर गीत सार्वजनिक गर्ने कार्कीको तयारी छ । रोमान्टिक शैलीको ‘कान्छी’ गीतलाई दर्शक श्रोताले रुचाए पछि उनले ‘कान्छी २’ सार्वजनिक गर्न खोजेका हुन् ।
त्यसोत पोखरा १३ काहुँखोलामा जन्मेका कार्कीलाई सानैदेखि गीत संगीततर्फ रुचि थियो । पोखराको ग्लोबल कलिजियट स्कुलमा कक्षा ६ मा अध्ययनरत हुँदाको समयबाट उनले गीत गाउन थालेका हुन् । उनलाई लोकपप गीत गाउन मनपर्छ । लोकपप विधा मार्फत नै गायन क्षेत्रमा स्थापित बन्ने उनको धोको छ ।
उनले भविष्यमा साङ्गीतिक क्षेत्रमा केही गर्ने लक्ष्य बनाएका छन् । ‘कहिले आउ’ बोलको गीत रेकर्ड गराई उहाँले २०७३ सालमा नै साङ्गीतिक क्षेत्रमा औपचारिक यात्रा प्रारम्भ उनले गरेका थिए । केही समय उहाँले ‘द न्यू बिगिनिङ’ व्याण्ड मार्फत समेत आफ्नो साङ्गीतिक यात्रालाई अगाडि बढाए । अहिले उनी सोलो गायकको रुपमा नै अगाडि बढ्न खोजेका छन्।
गायक कार्की २०७० मा आयोजित गोल्डेन आइडल प्रतियोगितामा विजेता बनेका थिए । उनले आफ्नो सक्रियता बढाउदै लगेका छन् ।
