पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा यतिबेला प्रवचनसँगै सङ्गीतमय बनेको छ । कोटिहोममा वाचन प्रवीण पं. दिनबन्धु पोखरेलको आफ्नै झाँकी र सङ्गीत समूह सहितको प्रवचन तथा चर्चित राष्ट्रिय कलाकारको सुमधुर स्वरमा भएको भजन प्रस्तुतिले पनि कोटिहोम सङ्गीतमय बनेको छ ।
दैनिकरुपमा कोटिहोममा आउने कलाकारको प्रस्तुति र सङ्गीतमय भजनले कोटिहोममा सहभागी भक्तजनले आनन्द लिएका छन् ।
कोटिहोममा सङ्घीय सांसद, प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका केन्द्रीय नेताहरू, स्थानीय जनप्रतिनिधि तथा चर्चित राष्ट्रिय हास्य तथा दोहोरी कलाकारहरूको सहभागिता बढ्दै गएको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
कोटिहोममा ३१ गते चर्चित हाँस्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ को सहभागिता रहने ढकालले जानकारी दिए । कोटिहोममा जेठ १ गते चर्चित गायिका एलिना चौहान, २ गते लोकदोहोरी गायिका पूर्णकला बीसी, ३ गते देउडा गायक नन्द कृष्ण जोशी, ४ गते भजन गायक रमेश सापकोटा, ५ गते लोकदोहोरी गायक राजु ढकाल, ६ गते हास्य कलाकार मेरी बास्सैकी पल्पसा डङ्गोल ‘चम्सुरी’ र २४ गते महानायक राजेश हमालको सहभागिता रहने उनले जानकारी दिए । कोटिहोममा श्री श्री श्री १००८ महामण्डलेश्वर ईश्वर चैतन्यकृण्ण स्वामी महाराजको उपस्थिति रहेको थियो ।
यसै गरी कोटिहोममा मङ्गलवार राष्ट्रिय लोकदोहोरी गायक श्याम रानाको भजन प्रस्तुतिमा भक्तजन छमछम नाचेका थिए । मङ्गलवार कोटिहोम दर्शन गर्नका लागि आएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारीले सनातन धर्म संस्कार संस्कृतिको जगेर्ना गर्न कोटिहोमले सन्देश दिएको बताए । उनीसँगै कोटिहोममा सहभागी भएका गण्डकी प्रदेश सभा सदस्य विन्दु पौडेल, दोर्ण कुमार कुँवर, प्रकाश बराल जिल्ला समन्वय समिति काठमाण्डौका प्रमुख तथा जिभि फाउन्डेसनका संस्थापक डा.जगदीश वैद्य, प्रहरी वरिष्ठ उपरीक्षक अभिमन्यु श्रेष्ठले पनि कोटिहोमको खुलेर प्रशंसा गर्दै यो ऐतिहासिक कोटिहोममा सहभागिता हुन सबैलाई आग्रह गरे । कोटिहोममा मङ्गलवार नै खडादेवि फ्रेम हाउस नयाँबानेश्वर काठमाण्डौं बाट १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग प्राप्त भएको संयोजक ढकालले जानकारी दिए ।
कोटिहोममा जारी प्रतियोगितामा देशभरबाट तीन सय बढी भजन समूहले सहभागिता जनाउँदै छन् । प्रतियोगितामा मङ्गलवार सम्म ८५ समूहले भाग लिइसकेका छन् । भजन प्रतियोगितामा हुने विभिन्न खालका झाकी, विभिन्न जिल्लाको भजन प्रस्तुतिले भक्तजनको ध्यान प्रतियोगिता तिर तानेको छ । सिन्धुली, काभ्रे, सुनसरी, उदयपुर, अर्घाखाची लागयतका टाढा टाढा जिल्लाबाट पनि प्रतियोगितामा समावेश भएको राष्ट्रिय भजन प्रतियोगिताका संयोजक प्रजापति पराजुलीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा दैनिक १० समूहले प्रतिस्पर्धा गर्दै आएका छन्।
प्रतियोतिामा देशभरबाट आएको प्रतियोगीले आफ्ना गाउँका भजन संस्कृतिलाई उजागर गर्ने थलो महायज्ञ बनेको छ । प्रतियोगितामा प्रथम हुनेलाई ३ लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई २ लाख ५५ हजार पाँच सय ५५, तृतीय हुने समूहलाई १ लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्कारको व्यवस्था छ ।
त्यसै गरी जारी कोटिहोममा नियमित हुने रक्तदान कार्यक्रममा मङ्गलवार सम्म ३ सय बढीले रक्तदाताले रक्तदान गरेका छन् । कोटिहोम आउने भक्तजनले आफू सक्य सहयोग गर्ने व्यवस्था भएकोले केही न केही सहयोग गरौँ भन्ने भावनालाई जागृत गर्न रक्तदान कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।
महायज्ञका सङ्कल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिले कोटिहोम ज्ञान महायज्ञलाई सबैको साझा थलोको रूपमा हेर्न आग्रह गरेका छन् । महायज्ञमा गत वैशाख २७ गते देखि वाचन प्रवीण पं. दिनबन्धु पोखरेलले आफ्नै झाँकी र सङ्गीत समूह सहित कोटीहोममा प्रवचन गरिरहेका छन् ।
