पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश कार्यसमिति पोखराको आयोजनामा ‘प्रथम गण्डकी लोक तारा’ हुने भएको छ । विश्व सङ्गीत दिवसको दिन आगामी असार ७ गते अन्तिम प्रतिष्पर्धा हुने लोक ताराको लागि यतिबेला जिल्ला अडिसन चलिरहेको अध्यक्ष राजन कार्कीले कोटखबरलाई जानकारी दिए ।

 नयाँ कलाकारलाई मञ्च प्रदान गर्दै लुकेर रहेको उनीहरूको प्रतिभा बाहिर ल्याएर अगाडि बढ्न हौसला प्रदान गर्ने उद्देश्यले पहिलोपटक यो कार्यक्रम गरिएको उनको भनाइ छ । कार्यक्रमको तयारी तीव्रताका साथ अगाडि बढाउने क्रममा अहिले आर्थिक सङ्कलन अभियानमा जुटिरहेको उनले खुलाए । 

प्रतियोगितामा प्रथम हुन सफल प्रतिभाले लोक ताराको उपाधि सहित नगद ५१ हजार १ सय ११ रुपैयाँ समेत हात पार्नेछन् । द्वितीय पुरस्कार ३१ हजार १ सय ११ रुपैयाँ, तृतीय पुरस्कार २१ हजार १ सय ११ रुपैयाँ र सान्त्वना पुरस्कार ११ हजार १ सय ११ रुपैयाँ रहको छ । 

गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेक ९ जिल्लामा अडिसन गरेर हरेक जिल्लाबाट २ जनाका दरले १८ जना अन्तिम प्रतिष्पर्धाको लागि छानिनेछन् । जस मध्ये स्याङजा जिल्लामा अडिसन भैसकेको छ । स्याङजाबाट सिला गुरुङ र दिलिप कुमार मानन्धर छनोट भएको अध्यक्ष कार्कीले जनाए । वैकल्पिकमा उदय राज डुम्रे परेका छन् । 

‘हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको हो । प्रतिष्ठान गण्डकीले गर्ने कार्यक्रम आउन एक महिना बाँकी हुँदै गर्दा तयारी तीव्रताका साथ अगाडि बढाइरहेको कार्कीले बताए । यो वर्ष अधिवेशनको वर्ष समेत भएको र यो कार्यक्रम आफ्नो कार्यकालको विशेष कार्यक्रम समेत भएको भन्दै कार्कीले सबैको साथ सर्पोटमा भव्यताका साथ कार्यक्रम सम्पन्न हुने विश्वास गरेको काेटखबरलाई सुनाए । जिल्लामा हुने अडिसनमा सहभागी बनेर आफ्नो प्रतिभा सुनाउन सबैलाई उनले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0