‍पोखरा  । गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पोखरामा क्रियाशील पत्रकारद्वय  केशव पाठक र दुर्गा अधिकारीलाई प्रदान गरिने भएको छ ।
पत्रकार पाठकले २०८१ र अधिकारीले २०८२ को पुरस्कार प्राप्त गर्ने भएका हुन् । पुरस्कारको राशि नगद रु. २५ हजार एक रुपैयाँ रहेको छ । पत्रकार गजेन्द्र भण्डारीको सम्झनामा उनका परिवारद्वारा स्थापित, नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित पुरस्कार यही जेठ २ गते स्व.पत्रकार गजेन्द्र भण्डारीको जन्म जयन्तीको अवसरमा प्रदान गरिने भएको हो ।

पत्रकारद्वय पाठक र अधिकारीले पोखरामा रहेर दुई दशक भन्दा बढी समयदेखि पत्रकारिता गर्दै आइरहेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष समेत रहेका पाठक पोखरा स्पोर्टस् अनलाइनका सम्पादक हुन । उनले युवा तथा खेलकुद मन्त्रालयबाट २०७६ को राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले प्रदान गर्ने उत्कृष्ट खेल पत्रकारिता पुरस्कार लगायतबाट सम्मानित भइ सकेका छन् ।

क्रियाशील पत्रकार महिला समुह गण्डकी प्रदेशका पूर्व अध्यक्ष समेत रहेकी अधिकारी निजी रेडियोहरूको छाता सङ्गठन वानका केन्द्रिय उपाध्यक्ष हुन । आमसञ्चार र पत्रकारिता एवम् समाजशास्त्रमा स्नातकोत्तर गरेकी उनी यस अघि राष्ट्रपतिद्वारा  जनसेवा श्री पञ्चमबाट विभूषित , नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा स्थापित स्व. जगन्नाथ सिग्देल हिमदूत पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल युवा पत्रकार सम्मान २०७२ लगायतका पुरस्कारबाट सम्मानित भइ सकेकी छन् । पाठक विशेषगरी खेलकुद पत्रकारितामा सक्रीय छन् भने अधिकारी रेडियो सफलता १०३.४ मेगाहर्जमा आवद्ध छन् ।

नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष एवम् सल्लाहकार दिपेन्द्र श्रेष्ठ संयोजक, राज बहादुर गुरुङ र रामप्रसाद तिमिल्सेना सदस्य तथा महासङ्घका अध्यक्ष माधव बराल र सचिव भुपाल गुरुङ पदेन सदस्य रहनेगरि गठित प्रतिभा छनोट समितिले गरेको सिफारिसलाई महासङ्घको मङ्लबार सम्पन्न बैठकले अनुमोदन गरेको हो । बैठक पत्रकार महासङ्घका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

स्व.गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकारिता मार्फत समाज, राष्ट्र र लोकतन्त्र प्रति योगदान पुर्‍याएका पत्रकारको सम्मानमा अर्पण गरिने गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0