पोखरा । एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले सहकारीमा गलत मनसायका साथ काम गर्ने सबैलाई कारवाहीको दायरामा ल्याइने बताएका छन् । शुक्रबार पोखरामा सहकारी सुशासन प्रवर्द्धन सम्बन्धी गण्डकी प्रदेशस्तरीय अभिभुखिकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

एमाले केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग प्रमुख समेत रहेका उनले गलत मनसायका साथ काम गर्ने जोकोहीलाई पनि कारवाहीको दायरमा ल्याइने प्रष्ट पारे । ‘सहकारीमा गलत मनसायका साथ काम गर्ने र राजनीतिक टेको लागेर जोगिने चेष्टा कसैले नगरे हुन्छ, सबैलाई कारवाहीको दायरामा ल्याइन्छ । एमाले समर्थक कोही त्यस्तो क्रियाकलापमा संलग्न हुनुहुन्छ भने आजैदेखि छोड्नुस्, तँपाईहरूलाई पार्टीले समर्थन गर्दैन’ उनले प्रष्ट पारे ।

उनले तीन खम्बे अर्थतन्त्रलाई बुझ्नुपर्नेमा त्यसलाई  नबुझ्दा नै आज समस्या आइरहेको खुलाए । ‘समस्या हाम्रो दृष्टिकोणमा छ, सहकारी न निजी हो, न सरकारी हो’ उनले भने ।
सहकारीलाई  व्यवस्थित गर्ने कामको जिम्मा राष्ट्रिय सहकारी महासङ्घले लिनुपर्नेमा उनको जोड थियो । 

सहकारीका शेयर सदस्यहरू सहकारीका गतिविधि प्रति चनाखो हुनुपर्ने उनले औँल्याए । ‘सुशासन तपाइ हामी सबैले आफैबाट सुरु गर्नुपर्छ । बोनस बितरण गरेको आधारमा सहकारीको अवस्था नबुझी अधिवेशनमा ताली बजाउदा आज यो समस्या आएको छ’ उनले भने ।

सहकारीका सात सिद्धान्तलाई परिमार्जित गरी कम्युनिटी इङ्गेजमेन्टका कार्यक्रम गरेर समुदायलाई नै लाभ हुने गरी काम गर्नुपर्ने बताएका उनले बचतको सीमा तोकिने कुरा ठिक नभएको भएपनि श्रोत खोजीको विषयलाई कडाइका साथ लागू गर्नुपर्ने आवश्यकता रहेको बताए ।

मौलिक हक नै हनन गर्ने काम कसैले गर्नु नहुने भन्दै राष्ट्र बैँकले सहकारीलाई बाँध्ने गरी जुन सर्कुलर जारी गरेकोमा आपत्ति जनाए । ‘त्यसको घोर विरोध गर्न चाहन्छु । राष्ट्र बैँकले निजी बैँकलाई जस्तो व्यवहार सहकारी माथि गर्नुहुँदैन, प्राधिकरण बनाएर यसको नियमन अनुगमन गर्नुपर्छ’ उनले थपे ।

सहकारीको माध्यम मार्फत बाँझो जमिनमा खेती गर्ने कुरालाई प्रोत्साहन गर्नुपर्नेमा उनको जोड थियो । सहकारीले प्रोजेक्टलाई धितो राखेर काम गर्ने वातावरणको सिर्जना गर्नुपर्ने र यसमा स्थानीय  तथा प्रदेश सरकारले समन्वय गर्नुपर्ने आवश्यकता औँल्याए । यसो हुन सकेमा उत्पादनलाई सिधै उपभोक्ता सम्म पुर्‍याउनका लागी सहयोगी भुमिका निर्माण हुने उनको विश्वास थियो ।

‘मर्यादित सहकारी समुन्नत समाज’ भन्ने मुल नाराका साथ राष्ट्रिय सहकारी महासंघ लि नेपाल र नेपाल सरकारको संयुक्त आयोजनामा सहकारी सुशासन प्रवर्द्धन सम्बन्धी गण्डकी प्रदेश स्तरीय एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0